मोरङको रंगेली नगरपालिकामा सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेर पीडित पक्षलाई दबाव दिँदै मिलापत्र गराउने गाउँका १० अगुवालाई तीन साता वितिसक्दा पनि प्रहरीले अझै सम्म पक्राउ गर्न सकेको छैन।
पीडित पक्षलाई मिलापत्र गर्न दबाव दिने रामबहादुर राजवंशी, निमलाल राजवंशी, शेखर गौतम, चित्रासेन राजवंशी, अभिनव बजगाई, गणेशप्रसाद दाहाल, दिलिप मुर्मु, रेवतबहादुर काफ्ले, सुवास राजवंशी र चेतबहादुर मगर फरार रहेको प्रहरीले जनाएको छ। पीडक पक्षको तर्फबाट पीडितलाई दबाव दिएर मिलापत्र गराउने सबै गाउँका अगुवा हुन्।
बलात्कार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ। श्रोतका अनुसार मिलापत्र गराउने भूमिका खेल्नेहरू सोझै जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन्।
प्रहरीले मिलापत्र गराउनेको खोजी कार्यमा तदारुकता नदेखाएको भन्दै गाउँलेहरू असन्तुष्ट छन्। घटनामा तीन अभियुक्त भनिएपनि एकजना अझै लापत्ता छन्।
रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले घटनामा मिलापत्र गराउनेको पनि खोजी कार्य भइरहेको बताए। ‘बलात्कारमा संलग्न २ जना पक्राउ परिसकेका छन्ं,’ उनले भने, ‘फरार भएका एक र मिलापत्रमा भूमिका खेल्नेहरूलाई पनि हामीले खोजी गरिरहेका छौं।’
याे पनि पढ्नुहाेस।
बलात्कार घटनामा संलग्न रंगेली–९ सखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई यस अघि नै प्रहरीले पक्राउ गरी अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न २३ वर्षीय सुनील चौधरी फरार छन्।
उनीहरूले असार २० को साँझ गाउँकी अशक्त किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। घरमा एक्लै भएको मौका छोपेर उनीहरूले किशोरीलाई अपहरण गरी नजिकै रहेको धान कुट्ने मिलमा लगेर सामूहिक बलात्कार गरेको किशोरीका आफन्तले बताएका छन्।
घटना सार्वजनिक भएपछि २६ असारमा गाउँमा स्थानीय अगुवाको भेला भएको थियो। त्यो भेलामा किशोरीका आफन्तलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति दिने उधारो कागजमा सहीछाप गराएर कतै उजुरबाजुर नगर्न दबाब दिइएको थियो। तीनै जनाले साउन ६ गते भित्र जनही ५०–५० हजार रुपैयाँ पीडित परिवारलाई दिने र प्रहरीमा कुनै उजुरबाजुर नगर्ने कागजमा सहीछाप गराइएको थियो।
याे पनि पढ्नुहाेस।