काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको मुख्य कार्यालयमा बुधबार आगलागी भएको छ।
बुधबार दिउँसो करिब पौने १ बजेतिर लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो। इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो।
जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार २ हजार लिटर पेट्रोल भण्डारण गरेको ठाउँबाट आगो सल्किएको हो।
आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको थियो। सशस्त्र प्रहरीका एसपी विश्वेश्वर थापाले आगलागीको खवर पाउने बितिकै एयरपोर्टको फर्मसहितको दमकल ल्याएको र आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए।
त्यस्तै सुविसुका अध्यक्ष सुधिर पराजुलीले क्षतीको पूर्णविवरण आउन केहि दिन लाग्ने बताए। आगालागीपछि ७० प्रतिशत ग्राहकको सेवा सुचारु गरिसकेको र बाँकी ३० प्रतिशत ग्राहकको सेवा भोलिसम्ममा सुचारु हुने उनले जानकारी दिए।
उनले आगलागीको कारण बारेमा अध्ययन गरिने बताए। आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइए पनि आगलागी नियन्त्रणपछि यातायात सुचारु गराइएको थियो।