जुम्लामा डिजेल प्लान्टबाट बिजुली

तस्बिरः बिएल

जुम्लाबाट निर्वाचित संसद गजेन्द्र बहादुर महतले मंगलबार प्रनिधिसभाको विशेष समयमा जुम्लाको विद्युत समस्याबारे बोल्दै ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई श्री ३ महाराज भएको आरोप लगाए ।

उनले मन्त्री पुन र निर्देशक घिसिङलाई जहाँबाट कमिसन आउँछ त्यहीँ मात्र विजुली विस्तार गर्ने गरेको आरोप लगाए। साथै हामीले यति उति प्रगति गर्छौं, इन्डियालाई बत्ती बेच्छौं भन्नुभन्दा समस्या भएको ठाउँ जुम्लालाई बेचिदिन आग्रह समेत गरे। उनले संसदमा यसरी बोलेकै दिन जुम्लामा डिजेल प्लान्ट जडान भएको छ।

मंगलबार बिहान ज्याक्सन कम्पनीबाट मेसिन  जडानको लागि मिस्री आएपछि डिजेल प्लान्ट जडान गरिएको साना जल विद्युत उपभोक्ता समितिका अध्यक्ष विष्णु बुढथापाले जानकारी दिए ।

२०४० सालमा स्थापित विद्युत जिर्ण बन्दै गएपछि गएको वर्ष भारतीय राजदूतावासले विद्युत मर्मतको लागि दुई करोड ६३ लाख ७७ हजार अनुदान दिएको थियो। त्यसमा ४५ लाख थपेर भारतीय कम्पनीसँग सहकार्य गरिरहेको पार्सी शुभकामना जेभी लाई बढेको मुल्यमा ठेक्का दिइएको थियो।

उक्त ठेकेदार कम्पनीले निर्माण गरिरहँदाको अवस्थामा टर्वाइन र वेरिङ बिग्रिएपछि जुम्ला अनिश्चितकालीन अँध्यारोमा धकेलिएको थियो।

लामो समयसम्म जुम्ला अँध्यारो भएपछि समस्या समाधानका लागि सांसद महतले विकल्पमा डिजेल प्लान्ट ल्याउन संसद विकास कोसबाट ५० लाख सहयोग गर्ने जनाएका थिए । उनले सहयोग गर्ने भएपछि चन्दननाथ सहकारी संस्थाका पाँच जना सदस्यले सामुहिक रुपमा ५० लाख ऋण लिएर विद्युत उपभोक्ता समितिलाई ऋण उपलब्ध गराएपछि नयाँ मेसिन ल्याइएको थियो ।

मंगलबारदेखि सञ्चालनमा आएको एक सय साठी किलोवाटको डिजेल प्लान्ट दैनिक १० घण्टा चलाउँदा महिनामा ६ लाख डिजेल खर्च हुने जनाइएपनि जडान भएपछि खर्च झण्डै दोब्बर हुन सक्ने कम्पनीका मिस्रीले जानकारी दिए।

सुरूमा प्रतिघन्टा न्युनतम १५ लिटर डिजेल खर्च हुने अनुमान गरिएको भएपनि हाल आएर प्रतिघन्टा २७-३० लिटरसम्म खर्च हुने उनले बताए ।

यसैबीच उज्यालो एफएमसँग कुरा गर्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रिडमार्फत विद्युत पुर्‍याउन ठेक्का सम्झौता भइसकेको बताएका छन्।

‘जुम्लामा अहिलेसम्म हाम्रो अफिस पनि थिएन, अब हामीले अफिस खोल्ने निधो गरिसकेका छौँ, र जुम्लामा डेढ बर्षभित्र राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली पुर्‍याउन दैलेखबाट ३३ केभी प्रसारण लाइन बनाउन ठेक्का सम्झौता गरिसकेका छौँ’, घिसिङले उज्यालोसँग भने, ‘हामीले पहल गरिरहेका छौँ, त्यसरी श्री ३ नभनेको भए हुन्थ्यो ।’

उनले प्राधिकरणको स्वामित्वमा रहेको रहेको लघु जलविद्युत स्थानीय उपभोक्ता समितिले भाडा (लिज)मा लिएर चलाएको बताए। ‘लिज सम्झौतामा मर्मतसम्भारको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिकै रहेछ, त्यसैले हामीले केही गर्न सक्दैनौँ’, घिसिङले भने।

उनले राष्ट्रिय ग्रिड नपुगेसम्म तत्कालका लागि अस्थायी रुपमा डिजेल जेनेरेटरमार्फत जुम्लामा विद्युत् आपूर्ति गर्ने विकल्प निकालेको बताए।

प्रकाशित मिति: : 2019-08-06 19:11:51

प्रतिकृया दिनुहोस्