हरेक वर्ष झैं यस वर्ष पनि जुम्लाको सरकारी टोली पूजा गर्न बडिमालिका प्रस्थान गरेको छ।
आउजाउ गरि १८ दिन लाग्ने तिर्थ यात्राको लागि जुम्लाको टोली सरकारी टोलि बाजुरा जिल्लामा पर्ने बडिमालिका गएको हो।
तत्कालिन जुम्ला र डोटी राज्यद्धारा संयुक्त रूपमा बढिमालिकामा पूजा गर्ने चलन रहेको स्थानीय जानकारहरु बताउँछन्। जुम्ला र डोटी राज्यको अस्तित्व समाप्त भएको दुई शताब्दी बढी बितिसक्दा पनि यो चलन कायम रहेको छ ।
सोही चलन अनुसार हरेक वर्ष नाग पञ्चमीको दिन जुम्लाबाट पूजा सामाग्रीसहित जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा चन्दननाथ मन्दिरका पूजारी, सरकारी कर्मचारी र स्थानीय सहित सयौं भक्तजनहरुको टोली बाजुरा जिल्लाको बडिमालिका तर्फ प्रस्थान गरेको हो ।
यसरी जान लागेको टोलीलाई हजारौ भक्तजनहरुले जिल्ला प्रहरी कार्यालय नजिकैबाट बिदाई गरेका छन्।
टोली आज तातोपानी बस्नेछ। यसरी विभिन्न पवित्र धार्मिकस्थल नजिकै बाँस बस्दै बडिमालिका पुगेर पूजाआजा गरि फर्कने छ।
पुरानो सरकारी संरचना अनुसार अञ्चलाधीश कार्यालयको माताहातमा चालिआएको पूजाआजा प्रशासनिक संरचनामा फेरिएसँगै जिल्ला प्रशासन कार्यालयको अगुवाइमा चलिरहेको छ।
यसपाली जिल्ला प्रशासन कार्यालयका कर्मचारी विष्णु महतको नेतृत्वमा सरकारी टोलीसहित सयौं मानिस त्यता तर्फ लागेका छन् ।
यसरी हरेक वर्ष बडिमालिका भगवतीको पूजा गर्ने चलन तत्कालीन जुम्ला र डोटी राज्यको सांस्कृतिक समन्वयको प्रतीक रहेको इतिहास र संस्कृति सम्बन्धका जानकार रमानन्द आचार्य बताउँछन्।
जुम्लाको टोली प्रस्थान गर्ने दिन प्रशासन कार्यालयको प्राङ्गणमा रहेको दरवार मालिका मन्दिरबाट पूजा सामाग्रीहरु बोकेर बडिमालिका जाने गर्छ।
बडिमालिका भगवतीको लागि भनेर प्रसासन कार्यालय जुम्लाबाट हरेक वर्ष गहना बनाएर पठाउने गरिन्छ । यस पटक पनि सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको कांगियो र चाँदीको छत्र बनाएर पठाएको जात्रा समितिले जनाएको छ । त्यस्तै उताबाट पनि उस्तै प्रकारका कोसेलीहरु आउने गरेको बताएको छ ।
यसरी बडिमालिकाबाट जुम्ला पुग्ने दिन पनि स्वागत गर्न उत्तिकै भक्तजनहरुको उपस्थिति रहेको हुन्छ।