महिलाको सफल कथा–२
भक्तपुर चाँगुनारायणमा रहेको मानव कल्याण समाज, जहाँ पुग्ने जो कोहीलाई एउटा दृश्यले सोच्न बाध्य बनाउँछ ।
२६ वर्षकी एक महिला काखमा दुधेबालक च्यापेर शारीरिक रूपमा अशक्त मनोरोगीको सेवामा तल्लिन देखिन्छिन् ।
सडकपेटीको छेउ फोहोरमैलामा लतपत्तिएका, शारीरिक तथा मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूको घिन नमानी दिनरात सेवा गर्नु पक्कै पनि चानचुने कुरा होइन ।
यसमा पनि सरकारी तथा गैरसरकारी संस्थाको सहयोगबिना ५० जनाको हाराहारीमा यस्ता व्यक्तिलाई पूर्नजीवन दिनु वास्तवमै अकल्पनीय काम हो ।
बिहान ४ बजे सेवाघर नजिकै रहेको यातुमहादेव मन्दिरमा बज्ने घण्टीसँगै उनको नित्य समय सुरु हुन्छ।
यो पनि हेर्नुहोस्
उनी बिहानै सेवाघरमा रहेका सबैलाई आलोपालो शौचालय पुर्याउँछिन् । र, हात–मुख धोईवरी केही समय योगा–ध्यानमा बसाउने गर्छिन् ।
बिहान उनलाई कामको चटारो यस्तो हुन्छ कि योगाबाट उठेको केही बेरमै सबैलाई चिया र नास्ताको व्यवस्था गर्न भान्छामा कुदिहाल्छिन् । बिहानको खाना तयार नभएसम्म उम्किने समय हुँदैन ।
उनलाई भान्सामा सघाउने उनकी एउटी बहिनी छिन् । स्वास्थ्य परामर्शका लागि पारिश्रमिकबिना काम गर्ने एकजना स्वास्थ्यकर्मी छन् ।
त्यसैले आश्रममा भएका ५० अशक्त आमाबुवा, दिदीबहिनी तथा दाजुभाईकी एक्ली अविभावक हुन्, उनी ।
आफूलाई दिसा–पिसाब आयो भन्ने अवस्थामा पनि नरहेका ती व्यक्तिलाई सडकपेटीबाट बेवारिशे अवस्थामा उद्धार गरेर ल्याउने आखिर को हुन्, ती महिला ?
सुमित्रा चौलागाईं । पेशाले पत्रकार । हेटौंडा मयुरधाप वडा नम्बर १४ की स्थायी वासिन्दा ।
कुनैबेला अरूको समाचार खोज्दैं हिँड्ने सुमित्रालाई सडकछेउ असहाय सुतिरहेका महिलाको अवस्था देखेर निकै विचलित बनाउँथ्यो ।
उनको यही कलिलो मन अहिले करिब पाँच दर्जन असहायका लागि जिउने आधार बनेको छ ।
यो पनि हेर्नुहोस्
‘म सानैदेखि अलि भावुक थिए’, २०६३ सालदेखि पत्रकारिता पेशामा संलग्न सुमित्राले बीएल नेपाली सेवालाई भनिन्, ‘पढेपछि केही काम त गर्ने पर्यो । फेरि मेरो रुचि पनि पत्रकारितातर्फ थियो।’
२०६३ सालमा हेटौंडाको स्थानीय थाहा सञ्चारमा काम गर्दैगर्दा उनी काठमाडौं प्रवेश गरेकी थिइन् । काठमाडौंमा उनले २०७२ सालमा रेडियो मिर्मिरेमा काम थालिन् ।
स्पष्ट आवाज अनि प्रष्ट वक्ताको रुपमा चिनिएकी सुमित्राले २०७४ सालमा जनता टेलिभिजनमा मानव सेवासम्वन्धी कार्यक्रम नै सञ्चालन गरिन् ।
जनता टेलिभिजनमै कार्यरत रहँदा २०७४ सालको मंसिर अन्त्यतिर उनी क्यामराको ‘बुम’ बोकेर रिपोर्टिङका लागि भक्तपुरको पाँचतले दरवार पुगेकी थिइन् । त्यहाँ उनले सडक छेउ थुप्रै बेवारिशे आमाबुवा देखिन् ।
यतिबेला उनको ध्यान रिपोर्टिङतिर भन्दा पनि बेवारिशे आमाबुवातिर गयो।
‘मलाई यो देखेपछि भक्तपुरमा यति धेरै आमाबुवा कसरी वेवारिशे भएर सडकमा आइपुग्नु भयो होला भन्ने लाग्यो,’ उनले भनिन्– ‘अझ पाँचतले मन्दिरअगाडि एकजना १४–१५ वर्षको मनोरोगीले विदेशी पर्यटकलाई दुःख दिएको देख्दा मन भक्काँनियो।’
उनी त्यो दृश्य देखेर भूइँमै थचक्क बसेकी थिइन। ‘यसपछि मलाई पत्रकारिता गर्न मन लागेन,’ उनले पत्रकारिताबाट समाजसेवातर्फको आफ्नो गन्तब्यको कहानी सुनाइन् ।
सुमित्राले सुरूमा सडकमा रहेका मानिसलाई खाना खुवाउने, सफा गरेर कपडा फेराइदिने काम गरिन् ।
उनले एक्लै सुरू गरेको अभियानमा विस्तारै मनकारीहरू पनि जोडिन थाले ।
हरेक दिन उनी खाना बोकेर सडकमा पुग्थिन् । मनोरोगी आमाबुवा उनलाई देखेर टाढैबाट मुसुक्क मुस्कुराउँथे ।
‘सडकपेटीमा बसोबास गर्ने आमाबुवाको ओठमा मुस्कान देखेपछि अब उहाँहरूको जीवन रूपान्तरण गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो र २०७५ सालको बैशाख २४ मा सिडियो कार्यालयबाट मान्यता लिएर मानव कल्याण समाजको नाममा औपचारिक रूपमा सेवा सुरु गरेँ,’ उनले भनिन् ।
संस्था दर्ता भए पनि मनोरोगीदेखि भर्खरै जन्मेका बच्चालाई उद्धार गर्नुपर्ने काम सोचेजस्तो सहज पक्कै थिएन ।
यो पनि हेर्नुहोस्
नेपालका विकल झा ओमानमा विमान चालकलाई पढाउँछन्
‘रातिको समय उद्धार कार्यमा बढी हिँड्थ्यौं । सबैको साथ र सहयोगले सम्भव भयो,’ उनले भनिन् ।
उनी रातबिरात उद्धारमा हिँड्दा उनको काखमा ७ वर्षको छोरा थियो । सुत्ने ठाउँ फराकिलो थिएन । त्यसैले उनको छोरा पनि उद्धार गरिएका आमाबुवासँगै सुत्थे ।
यसरी मनोरोगीसँग हुँर्कदैं जाँदा उनको छोराको बालमस्तिष्कमा पनि यसले असर पुर्यायो ।
‘कामको व्यस्तताले मैले हेक्का नै राखिनछु । मसँग अहिले मेरो छोरा मात्रै हैन, उद्धार गरेर ल्याएकी एक काखेछोरी र स्कुल जाने तीन छोरा पनि छन्,’ उनी भन्छिन् ।
भक्तपुरमा गत वर्ष दुईवटा कोठा भाडामा लिएर सुरू गरिएको मानव कल्याण समाजको आकार अहिले ठूलो भइसकेको छ । यतिबेला ५ बालबालिकासहित ५० जनालाई उनी सेवा पुर्याइरहेकी छिन् ।
मनकारीहरूले आफ्नो जन्मदिन, विवाह उत्सव, ब्रतवन्धको अवसर पारेर केही रकम सहयोग गर्ने गरेका छन् ।
यसबाहेक उनको अर्को आर्थिक श्रोत केही छैन ।
उनी भन्छिन्,‘मन भित्रैबाट चाहना राखेर कुनै पनि काम गर्ने हो भने परिवर्तन सम्भव छ ।’
मासिक ५० हजार घरभाडा र दैनिक कम्तिमा १५ हजार खर्च धानेर एक्लै सेवामा जुटेकी सुमित्राको यो कामलाई सलाम।