पछिल्लो तीन वर्षयता प्रदेश नम्बर १ मा सडक दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्यामा उल्लेख्य कमी आएको देखिएको छ।
प्रदेश नम्बर १ मा समेटिएको १४ जिल्लाको रिपोर्ट ‘ब्रेक एन लिंक्स (बीएल मिडिया)’ लाई उपलब्ध गराउने क्रममा ट्राफिक प्रहरीले यो जानकारी दिएको हो।
प्रहरीले केही वर्षयता दुर्घटनाको न्युनिकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको थियो। यस्तै, स्थानीय तथा प्रदेश सरकारको सकारात्मक पहलका कारण घटनामा कमी आएको विज्ञहरू बताउँछन्।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीम दाहाल केही वर्षयता सवारी दुर्घटनामा १२ दशमलव ५ प्रतिशतले मानव दुर्घटनामा कमी आएको बताउँछन्।
‘दुर्घटना न्यूनीकरणका लागि सडक सुशासन सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिएका छन्,’ उनले भने, ‘ट्राफिक प्रहरीले सवारी चालकदेखि यात्रुसम्ममा सचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ।’
यो आर्थिक वर्षमा २०७५–७६ मा दुर्घटनामा परेर ३ सय ७३ जनाको ज्यान गुमाएका छन्।
जुन आँकडा विगत वर्षभन्दा कम हो। गत आर्थिक वर्षमा ४ सय २४ ले ज्यान गुमाएका थिए।
अझ २०७३–७४ मा ४ सय ९८ जनाको ज्यान गएको थियो।
प्रहरीले दिएको जानकारी अनुसार यस वर्ष ९ सय ३४ जना गम्भीर घाइते भएका छन्। जसमा ९ सय १५ मोटरसाइकल, १ सय ३९ ट्रक, १ सय ३५ बस, २ सय ६९ कार, जीप र भ्यान, १ सय ४० ट्रयाक्टर, १ सय १ टेम्पो र ५४ अन्य सवारी साधन दुर्घटनामा परेका छन्।
गत वर्ष १२ सय ६९ दुर्घटनामा ९ सय ७४ गम्भीर घाइते भएका थिए। २०७३÷०७४ मो १३ सय दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल छन् ।
प्रदेश १ मा दैनिक ६० वटा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गरेको छ।
एसपी दाहाल दैनिक १२ ठाउँमा राडार गनको प्रयोग गरेर विशेष सवारी चेकिङ हुने गरेको बताउँछन्।
यस्तै ट्राफिक प्रहरीले २०७५–०७६ मा नियम उल्लंघन वापत गरेको कारबाहीबाट १६ करोड ७५ लाख ९८ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ। प्रदेशका १४ वटा जिल्लामा एक वर्षमा मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधन चलाउने ९ हजार आठ सय ८४ चालक कारबाहीमा परेका छन्। मापसे कारबाहीबाट ९८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । क्षमता भन्दा बढी यात्रु बोक्ने २१ हजार नौ सय ५२ वटा सवारी साधनलाई कारबाही गर्दा १ करोड ४५ लाख २० हजार पाँच सय रुपैयाँ असुली भएको छ ।
सिट बेल्ट नलगाउने नौ हजार तीन सय ४१ सवारी चालकलाई कारबाही गर्दा ४६ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको एसपी दाहालले बताए । उनका अनुसार गलत साइट प्रयोग गर्ने १५ हजार एक सय ३५ सवारी साधन कारबाहीमा पर्दा ८५ हजार ६४ लाख पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।
लापरबाहीपूर्ण तरिकाले कुदाउने ५५ हजार सात सय ७५ सवारी साधनबाट ३ करोड २१ लाख ६१ हजार तथा तीव्र गतिमा कुदाइएका ३ हजार आठ सय ५५ सवारी साधनलाई कारबाही गर्दा १९ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।