रोल्पामा रक गार्डेन

तस्बिरः बिएल

रोल्पा सदरमुकाम लिबाङबाट करीब बाह्र किलोमिटर पिच बाटो उक्लिएपछि रोल्पाको पर्यटकीयस्थल सातदोबाटो आउँछ।

करीब बाइस सय मिटरको उचाईमा रहेको सातदोबाटो भालुबाङ तर्फबाट लिबाङ जादा लिबाङ नपुग्दै भेटिन्छ।

चिसोयाममा हिउँ पर्ने, हिमालहरु देखिने, गर्मीयाममा चिसो हावा चल्ने, अग्लो स्थान, लालिगुँराँस फुल्ने, प्यूठान, रुकुम, बाग्लुङ, सल्यानलगाएतका जिल्लाहरु देखिने भएकाले यस क्षेत्रमा मान्छेको ओहोर दोहर चलिरहन्छ। यसै स्थानमा अहिले रक गार्डेन निर्माण भएको छ।

रोल्पा नगरपालिका वडा नं. ३ मापर्ने सातदोबाटोमा रहेको यो डाँडोमा नगरपालिकाको सक्रियतामा रक गार्डेन निर्माण भएको छ।

सृजनशील मान्छेले ढुंगालाई मूर्ति बनाउँछ र अल्छीले मूर्तिलाई ढुंगामा परिणत गर्छ भने जस्तो रोल्पा नगरपालिकाका मेयर पुरण क्षेत्रीले यो वन्जड स्थानलाई रक गार्डेन बनाएर एक अनुमप उदाहरण पेश गरेका छन्।

यस स्थानमा पुग्नु पहिले जो कोहीले पनि यसको शुन्दरता आँकलन गर्न सक्दैन। तर, पुगे पछि जो कोहिलाई पनि भब्य शुन्दर र अनुपम लाग्छ।

रोल्पा नगरपालिको सक्रियतामा, जिल्ला वन डिभिजन कार्यालयको समेतको सक्रियतामा करीब १४ लाखको लगानीमा यो पार्कको निर्माण कार्य सुरू गरिएको छ।

रोल्पा नगरपालिकालाई पर्यटकीयस्थलका रूपमा स्थापित गर्न लागिरहेका मेयर पूर्ण के.सी. यो पार्कको डीपिआर निर्माण गर्न बाँकी रहेको बताउँछन्। ‘बाँकी काम डीपीआर निर्माण गरेर अगाडि बढाउँछौं,’  उनले भने।

करीब २३ सय मिटरको उचाईमा रहेको रक गार्डेनमा हाल घेरवार, प्रवेशद्वार, विश्राम बेन्च र सेल्फी भ्यू निर्माण गर्ने काम सकिएको छ। यसले पनि आकर्षण थपेको छ।

तत्कालै शौचालय, फोहोर व्यवस्थापनलगाएतका कामहरु गरिने मेयर पूर्ण के.सी.ले बताए।

सानो लगानीमा उदाहरणीय काम गर्न सकिन्छ भन्ने हामीले देखाएका छौ’, मेयर केसीले भने।

रोल्पाको पर्यटकीयस्थल जलजला र थबाङ जाने नयाँ पदमार्ग तथा रूट सदरमुका लिबाङ भएर सञ्चालनमा आएको र यातायात सहजता तथा भ्यूको हिसावले यो रूट स्थापीत हुने निश्चित भएकाले प्याकेज निर्माण गर्न पनि सदरमुकाम लिबाङ वरपरका स्थानहरुलाई पर्यटनमैत्री योजना बनाएर निर्माण गर्न लागिएको मेयर के.सी.को भनाई छ।

नजिकै रहेको गुरूङगाउँ सामुदायिक होम स्टे, हरियो नगर सदरमुकाम लिबाङ बजार, नजिकै रहेको माडीचौर मगर गाउँ यी समेत भ्रमण गन्तव्य र प्याकेज बन्न सक्ने पत्रकार तथा अधिकारकर्मी खेम बुढाले बताए।

रोल्पा मगरहरुको बाहुल्य भएको जिल्ला भएकाले मगर संस्कृति र परम्परालाई पनि ख्याल गरेर यस्ता पर्यटकीय स्थलहरुको निर्माण गरिनुपर्ने उनले बताए।

अर्का पत्रकार काँशीराम डाँगीले जिल्ला आउने पर्यटकलाई कम्तिमा एक दिन र एक रात लिबाङ र आसपासका स्थानहरुमा भ्रमण गराउन सक्ने र यहाँ रोक्न सक्ने गरी प्याकेज बनाउन सके फलदायी हुने बताए।

पत्रकार नविन लोचन मगरले रोल्पा द्वन्द्वको उद्गम थलो भएकाले पनि युद्व पर्यटनलाई जोड्नुपर्ने र यसको महत्व बेग्लै हुने भएकाले प्राथमिकतामा राखि योजना बनाउनुपर्ने बताए।

रक गार्डेन औपचारिक रुपमा उद्घाटन नभए पनि स्थानीयहरु घुम्न जानेको क्रम बढिसकेको नगरपालिका उपमेयर मनकुमारी घर्तीले बताइन्।

साउदीमा लामो समय श्रम गरेर गाउँ फर्किएका दिल बहादुर घर्तील यो गार्डेनमा आफ्नो कला प्रस्तुत गरेका हुन्। गार्डेनको मुख्य  प्रवेशद्वार, बेन्चहरू र सेल्फी भ्यू मुख्य आकर्षण हुन्। यी सबै निर्माणमा घर्तीले गरेको मेहनत देखिन्छ।

आफ्नै गाउँघरमा खेर गएको स्थानमा आफ्नो कला प्रस्तुत गर्न पउँदा निकै खुसी भएको उनले बताए।

नजिकै रहेको डाडाँमा नेपालको सबैभन्दा अग्लो भ्यूटावर निर्माणको कार्य पनि सुरू भएको छ।

यो भ्यूटावरको उचाइ एक सय दश फिट हुने मेयर के.सी.ले जानकारी गराए। द्वन्द्वको समयमा स्थापना भएको नजिकैको आर्मी व्यारेक पनि बाहिरबाट आएका पर्यटकका लागि अवलोकन गर्न सकिने स्थानका रुपमा लिइन्छ।

करिब पच्चिस सय मिटरको उचाईमा रहेको आर्मीको व्यारेकको बनोट र अवस्थिति अति नै आर्कषक देखिन्छ।

डाँडाले भरिएको, नजिकै जंगल रहेको र कालिज, मृग लगाएतका बन्यजन्तु समेत पाईने भएकाले यो क्षेत्र पर्यटनका हिसावले पनि महत्वपूर्ण रहेको स्वास्थ्य अभियान्ता के.वि. डाँगीले बताए।

थोरै लगानीमा निर्माण भएको यो गार्डेन एक अनुपम र उदारणीय बनेको छ। जनप्रतिनिधिले चाहे भने जनचासोको काम गर्न सक्छन् भन्ने उदाहरण रोल्पा नगरपालिकाले गरेको छ।

प्रकाशित मिति: : 2019-07-21 15:31:53

प्रतिकृया दिनुहोस्