यी चार कारणले पैसा सम्बन्ध काट्ने कैँची हुन सक्छ !

पैसासँग सम्बन्धित यी चार कारण हुन् जसले सम्बन्धलाई नै सिध्याइ दिन्छन् । तस्बिर : गेट्टी इमेज

भनाइ नै छ- पैसा नहुँदा पनि हुदैन, पुगिसरी हुँदा पनि हुदैन । त्यसो भए कति हुँदा चाँहि हुन्छ त ? यसको उत्तरमा सबैको भनाइ लगभग एउटै हुन्छ- ठीक्क । तर, त्यो ठीक्क कति हो ? त्यही थाहा नपाएर आजको समयका सम्बन्धहरू धरापमा पर्दै गएका छन् । आफन्तबीचको सम्बन्ध होस् वा साथीसंगीबीचको वा दम्पतीबीचको सम्बन्ध नै किन नहोस् - अन्तत: पैसा सम्बन्ध काट्ने धारिलो हतियार हुदै गएको छ ।


बेलायतमा केही समयअघि  पैसालाई लिएर गरिएको एक अध्ययनले यस्तो निस्कर्ष निकालेको हो ।  दम्पती र साथीहरूबीच पैसालाई लिएर हुने विवादलाई 'अध्ययन नमूना' बनाएर  अध्ययन गरिएको थियो। अध्ययनले त्यसका प्रमुख कारण चारवटा रहेको निष्कर्ष निकालेको छ । 

१. तपाई खर्चालु हुनुहुन्छ वा वचत गर्नुहुन्छ ?
२. तिम्रो पैसा वा मेरो पैसा भन्नुहुन्छ कि हाम्रो पैसा हुन्छ ?
३. पैसा थाहा दिएर खर्च गर्नुहुन्छ कि थाहा नदिई गर्नुहुन्छ ?
४. पैसा सहयोग गर्दा ऋण दिदै हुनुहुन्छ  कि उपहार दिदै हुनुहुन्छ ?

बीबीसी रेडिओ ४ को मनी क्लिनीक कार्यक्रममा यस विषयलाई महत्वका साथ प्रस्तुत गरिएको थियो । हामीले त्यही सामग्रीको आधारमा यो सामग्री यहाँ प्रस्तुत गरेका छौं - 

 

तपाईँ खर्चालु हुनुहुन्छ या बचत गर्नुहुन्छ?

पैसा

मानिसहरूबीच पैसाको विषयमा विवाद उत्पन्न हुनुको एउटा प्रमुख कारण भनेको यसको विषयमा उनीहरूको फरक दृष्टिकोण हो।

त्यस्तो दृष्टिकोणको निर्माण बाल्यकालदेखि नै हुन्छ जुन घरेलु वातावरण र अनुभवबाट सिर्जित हुन्छ।

तर यसको अर्थ तपाईँले सधैँ आफ्ना अभिभावकको सिको गर्नुहुन्छ भन्ने भने होइन। उदाहरणका लागी तपाईँका लागि बाल्यकालमा पैसा सधैँ अपुग हुन्थ्यो भने पछि गएर तपाईँ निकै खर्चालु व्यक्ति बन्न सक्ने सम्भावना रहन्छ।

र हामी पैसालाई यसको लेनदेनसँग सम्बन्धित सुविधाभन्दा माथि राखेर यसलाई अर्थपूर्ण बनाउँछौँ।

हामी मध्ये केहीका लागि पैसाले सुरक्षा प्रदान गर्छ भने केहीका लागि यसले स्वतन्त्रता प्रदान गर्छ। अन्य केहीका हकमा भने यसले हैसियत र शक्तिको प्रत्याभूति दिलाउँछ।

यसै कारण पैसासँगको हाम्रो सम्बन्ध जटिल हुन्छ र यसको छाप गहिरो हुन्छ। र त्यसले पैसाबारे फरक धारणा राख्ने मानिससँग भेट हुँदा निराशा उत्पन्न गराउन सक्छ।

तपाईँ आफ्ना साथीसँगीले नयाँ लुगा वा रात्रिकालीन मनोरञ्जनमा पैसा खर्च गरेको नरुचाउन सक्नुहुन्छ। तपाईँको साथीसँगी भने पैसाबारे तपाईँको सोच साँघुरो हुन नहुने र कहिलेकाहीँ मनग्य खर्च गर्नुपर्छ भन्ने हुन सक्छ।

तिम्रो पैसा वा मेरो पैसा भन्नुहुन्छ कि हाम्रो पैसा हुन्छ ?

पैसा बारे छलफल

नयाँ सम्बन्ध सुरु गर्दा 'मेरो पैसा' र 'तिम्रो पैसा'लाई 'हाम्रो पैसा' बनाउन जटिल हुनसक्छ।

आफूहरूको पैसा कसरी बाँड्ने भन्ने विषयमा निर्णय लिने कुरा तिक्ततापूर्ण हुनसक्छ। पैसा आधाआधा गर्ने कुरा सधैँ उचित नलाग्न सक्छ।

त्यस्तो अवस्थामा तपाईँहरू दुवै जनालाई मान्य हुने कुरा के हुन सक्ला?

त्यस्तै अवस्था परिवर्तन हुँदा पैसा बारे फेरी छलफल गर्नुपर्ने हुनसक्छ। जस्तो नयाँ बच्चा जन्मेको अवस्थामा वा जागिर नभएको अवस्थामा। यस्तो अवस्थामा के उचित होला?

तपाईँहरू मध्ये एक जनासँग बाबुबाजे बाट प्राप्त भएको धनराशि छ। के तपाईँ त्यो बाँड्नुहुन्छ?

तपाईँसँग साथीभन्दा कम पैसा छ भने त्यसले तपाईँको सम्बन्धमा शक्तिको असन्तुलन उत्पन्न गराउन सक्छ। अरूमा भर पर्नुपर्दा निराशा महसुस हुनसक्छ।

पैसा थाहा दिएर खर्च गर्नुहुन्छ कि थाहा नदिई गर्नुहुन्छ ?

तनाव

"यस्तो महसुस भइरहेको थियो कि उनी भिसा (कार्ड) सँग सम्बन्धमा थिइन।"

"उनी हाम्रो वैवाहिक सम्बन्ध बाहिर मोजमस्ती गरिरहेकी थिइन," बीबीसी रेडियोका श्रोता जेम्स भन्छन्।

आफ्नी पत्नीले थाहै नदिई क्रेडिट कार्डको प्रयोग गरेर हजारौँ पाउन्ड खर्च गरेको थाहा पाएपछि उनले आफूमाथि धोका भएको महसुस गरे।

जब तपाईँ कुनैपनि सम्बन्ध सुरु गर्नुहुन्छ, एकआपसमा विश्वासको स्तर उच्च हुन्छ। तपाईँ आफ्नो साझेदारमाथि विश्वास गर्नुहुन्छ।

तर पैसालाई हेर्ने दृष्टिकोण फरक परेको अवस्थामा भने उक्त विश्वासमाथि असर पर्नसक्छ।

त्यसकारण पनि तपाईँ आफ्नो खर्च गर्ने बानी बारे इमानदार हुनपर्छ र पैसा अनि खर्चबारे तपाईँलाई के लाग्छ भन्ने कुरा खुला रूपमा छलफल गर्न तयार हुनुपर्छ।

पैसा सहयोग गर्दा ऋण दिदै हुनुहुन्छ  कि उपहार दिदै हुनुहुन्छ ?

पैसा

कसैले तपाईँसँग पैसा सापट माग्यो भने के गर्नुहुन्छ?

ऋण माग्ने अप्ठयारो अवस्थामा रहेका साथी हुन सक्छन् वा घर मर्मत गर्न वा नयाँ गाडी किन्न थप रकमको आवश्यकता परेको आफन्त हुन सक्छन्।

तपाईँले उनीहरूलाई निष्फिक्री ऋण सहयोग गर्न सक्नुहुन्छ। तर उनीहरूले त्यस्तो सहयोगलाई उपहारको रूपमा लिएर फिर्ता नगर्न पनि सक्छन्।

त्यस्तो अवस्थामा के होला?

यदि तपाईँ कसैलाई सहयोग गर्न इच्छुक हुनुहुन्छ भने प्रस्ट रूपमा कुराकानी गर्न आवश्यक हुन्छ। गलत बुझाइ नहोस् भनेर सहमति के हो भन्ने विषयमा प्रस्ट हुनुस्।

प्रकाशित मिति: : 2019-07-18 04:55:42

प्रतिकृया दिनुहोस्