भारतीय युवकसँग बिहे गर्न लागेकी किशोरीको बिहे मण्डपबाटै उद्दार

बिएल

नेपालको प्रदेश नम्बर १ को मुख्य शहर विराटनगरमा सोमबार एउटा यस्तो दृश्य देखा पर्यो। जसका कारण स्थानीय प्रहरी वाहवाहीको पात्र बनेका छन्। 

विराटनगर महानगरपालिका–४ स्थित जामुनगाछीमा उमेर नपुगेकी एक किशोरीको बिहे भारतीय युवकसँग गर्न लागिएको थियो।

तर, प्रहरीले बेलैमा बिहेको मण्डप पुगेर ती किशोरीको उद्धार गर्यो। प्रहरीकै रोहवरमा ती किशोरीको बिहे उमेर पुगेपछि मात्र गराउने सहमति भएपछि प्रहरी घटनास्थलबाट फर्किएको थियो।
भारत हरियाणा घर भएका २४ वर्षीय युवकसँग १८ वर्ष पनि पुरा नगरेकी किशोरीको बिहे गर्न लागिएको थियो।

‘उमेर पुगेपछि मात्र किशोरीको बिहे गर्ने सहमति भएपछि अभिभावकको जिम्मा लगाइयो,’ मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुले ब्रेक एन लिंक्स (बीएल मिडियां) लाई जानकारी दिए।

उनले युवकलाई पनि अभिभावक बोलाएर जिम्मा लगाएको बताए। प्रहरी बालविवाह भइरहेको सूचनाका आधारमा बिहे घर पुगेको थियो। ‘बेहुलाको उमेर पुगे पनि बेहुलीको बिहे गर्ने उमेर पुगेको रहेनछ,’ खिउजुले भने, ‘नजानेका कारण उमेर नपुगे पनि किशोरीका अभिभावकले बिहे गरिदिन लागेको पाइयो ।’

नेपालमा २० वर्ष उमेर पूरा भएपछि मात्रै छोरीको बिहे गर्न पाइने नियम छ।

प्रकाशित मिति: : 2019-07-15 21:59:16

प्रतिकृया दिनुहोस्