तनहुँमा महिलालाई भानुभक्तीय (बिर्के) टोपी बनाउने तालीम

तनहुँको भानु नगरपालिकाले महिलालाई बिर्के टोपी (भानुभक्तीय) बनाउने तालीम प्रदान गरेको छ ।

आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण भएको भानु नगरपालिकाले नगरका महिलाले बिर्के टोपी उत्पादन गरुन् भन्ने उद्देश्यले बुधबारदेखि तालीम प्रदान गरेको हो । असार १ गतेदेखि नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई बिर्के टोपी अनिवार्य गरिसकेको छ ।

सिलाइकटाइमा रुचि भएका र आर्थिक रुपमा विपन्न महिलालाई छनोट गरेर बिर्के टोपी बनाउन तालीमको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिइन्। उनका अनुसार दमौलीस्थित निखिल ढाका उद्योगमा सञ्चालित एक हप्ते तालीममा भानु नगरपालिका–१ देखि ६ सम्मका ६ महिला सहभागी छन् ।

“महिला लक्षित कार्यक्रममार्फत् तालीम प्रदान गरेका छौ,” उपप्रमुख थापाले भनिन्, “यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुमै बिर्के टोपी उत्पादन गर्न सहयोग पुग्नेछ ।”

तालीमपछि मेसिन नगरपालिकाले उपलब्ध गराउने नगरप्रमुख उदयराज गौलीले जानकारी दिए। हाल बाहिर बिर्के टोपी खरीद गर्दा महँगो पर्ने र भानुमै यसको उत्पादन गर्न सकिए सरल मूल्यमा पाउन सकिने भएकोले तालीममा जोड दिइएको गौलीले बताए।

नगरपालिकाभित्र हुने हरेक कार्यक्रममा बिर्के टोपी उपहारस्वरुप दिने योजना नगरपालिकाले बनाएको छ । असार १ गतेदेखि नगरपालिकाका कर्मचारीले बिर्के टोपी लगाउन शुरु गरिसकेका छन् ।

नगरपालिकाका सबै वडाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकलाई समेत सो टोपी अनिवार्य गर्ने तयारी गरिएको प्रमुख गौलीले जानकारी दिए। “राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि बिर्के टोपी अभियान शुरु गरेका हौ,” गौलीले भने।

प्रकाशित मिति: : 2019-06-27 00:05:24

प्रतिकृया दिनुहोस्