संवैधानिक परिषद् बैठक बस्नुअघि प्रधानमन्त्रीलाई देउवाको फोन

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोनमा कुराकानी भएको छ।

प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् बैठक राखेका छन्।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सभापति देउवासँग द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नेतृत्व प्रदान गर्नेबारे छलफल गरेका थिए।

प्रधानमन्त्रीसँग बालुवाटारमा भएको बैठकका कुरा सुनाउन देउवाले मंगलबार बिहान पदाधिकारी बैठक राखेका थिए।कतिपय निर्णय विपक्षी दलको नेताको अनुपस्थितिमै भएको भन्दै कांग्रेसले त्यो परिषद् गठनको मर्मविपरीत भएको बताएको छ ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘सरकारले जे चाहन्छ, त्यो मात्र निर्णय गर्ने भए त संवैधानिक परिषद किन गठन गर्नुपर्थ्यो र ? त्यसैले सहमतिका आधारमा निर्णय गर्नुपर्छ भन्ने हाम्रो जोड रह्यो ।’


सत्ता र प्रतिपक्ष सहमतिअनुसार नै द्वन्द्वकालीन मुद्दाहरू हल गर्ने र ऐन निर्माणमा टुंगोमा पुग्नुपर्ने देउवाको भनाइ छ।सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्वमा सत्तापक्ष र प्रतिपक्षले ‘आफ्नो मान्छे’ दाबी गर्दै आइरहेका छन्। सात महिनादेखि यी आयोग पदाधिकारीविहीन छ।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार अजरबैजान जान लागेका हुन्।

प्रकाशित मिति: : 2019-10-22 14:12:22

प्रतिकृया दिनुहोस्