एनआरएनको मतदानस्थलमा फेरि तनाव, मतदान रद्द गर्न माग गर्दै नाराबाजी

बिएल

गैरआवासीय नेपाली संघ (एनआरएन)को मतदानस्थलमा फेरि तनाव भएको छ ।कूल आचार्य समूहले निर्वाचन समितिले नक्किली मतदातालाई समेत भोट हाल्न दिएको भन्दै मतदान रद्द गर्न माग गर्दै नाराबाजी गरेपछि मतदानस्थलमा फेरि तनाव उत्पन्न भएको हो ।

एनआरएन चुनावी प्रक्रिया सु्रु भएसँगै मतदानस्थलमा पटक पटक तनाव हुँदै आएको छ । बुधबार पनि मतदाताले ३ घण्टासम्म भोट हाल्न नदिएको भन्दै २० हजार फिर्ता माग्दै नाराबाजी लगाएका थिए ।

आक्रोशित भीडले मतदानस्थल बाहिरका केही टेबल–कुर्सी पनि फुटाएका थिए ।यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।

एनआरएन आइसीसीको आगामी नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानल बनाएर चुनावमा भिडेका छन् । कुल ४२ पदका लागि हुने निर्वाचनमा १३ पद निर्विरोध भएका छन् भने दुई पदमा कसैको पनि उम्मेद्वारी परेको छैन । बाँकि भएका २७ पदका लागि ६१ जना चुनावी मैदानमा बाँकि छन् । अधिकांश उम्मेदवार प्यानलका भए पनि केही प्यानलमा समेटिन बाँकि रहेका उम्मेद्वार पनि चुनावी मैदानमा छन् ।

एनआरएनको विश्व सम्मेलनमा विभिन्न ४५ देशका २५ सय प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

 

प्रकाशित मिति: : 2019-10-17 13:04:49

प्रतिकृया दिनुहोस्