नेपाली राजनीतिको बिडम्बना : ९ दिनमा ३ सांसद पक्राउ, अब पालो कस्को ?

तस्बिरः बिएल

नेपाल यस्तो देश हो, जहाँ भ्रष्टाचारको बिगबिगी यतिसम्म बढेर गएकाे छ, केन्द्र सरकार हुँदै भ्रष्टाचार प्रदेश सरकार र स्थानीय तहसम्म माैलाउँदो छ । 

भ्रष्टाचारकै कारण देशको मुहार अहिलेसम्म फेरिन सकेको छैन। प्रकृतिको अनुपम बरदान र जलस्रोतको धनि देश भएपनि नेपाल अझैं पछाैंटेपनामा रुमलिएको छ।

राष्ट्रलाई कुन दिशातर्फ लैजाने सबैभन्दा ठूलो हात नेताहरुको हुन्छ। तर हाम्रो देशका राजनीतिक दलका नेताहरुमा त्याे दुरदृष्टी अहिलेसम्म देखिएकाे छैन। उल्टैं केही नेता देशलाई सुधार्ने तर्फ होइन, आफ्नो गोजी भर्ने तर्फ लम्किरहेको पछिल्लो उदाहरणले प्रष्ट पारेका छन्।

केही समययता नेपाली राजनीतिमा ठूला नेताहरुको नाम सरकारी जग्गा हडप्नेदेखि याैन काण्ड हुँदै अपराधिक कृयाकलापमा पुगेर टुँगिन थालेकाे छ। याे देशकाे भविष्यका लागि शुभ संकेत हाेइन। यसले नेपाली राजनीतिको सिंगो कथा बयान गरिरहेको छ।

पछिल्लो समय नेपाली राजनीतिलाई फर्किएर हेर्ने हो भने मात्र नौ दिनमा सभामुखसहित तीन प्रतिनिधिसभाका सांसद पक्राउ परेका छन् । देशको नीति नियम बनाउने सांसदहरु अपराधिक कार्यमा पक्राउ पर्नु  पक्कै पनि राम्रो संकेत होइन।

नौं दिनमा प्रक्राउ परेका सांसदहरु

कृष्णबहादुर महरा, निवर्तमान सभामुख

नेपाल सरकारको पाँचौं वरियता जस्तो गरिमामय पदमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा असोज १९ मा सभामुख निवासबाटै पक्राउ परे । उनीमाथि सांसद सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनको पक्राउको खबरले विश्वभर नेपालको बदनामी भएको थियो । सभामुखजस्तो गरीमामय पदमा आसिन व्यक्तित्व यौन दुर्व्यवहार मुद्धामा मुछिएर पदवाट राजीनामा गरेको  यो नै नेपालको पहिलो घटना हो । यसमा महराले नयाँ कीर्तिमान नै बनाए ।यसले नेकपा पार्टीको मात्र होइन, नेपाली राजनीतिको पनि बदनामी भएको छ।

रोल्पा, लिवाङ–७ स्थित धारापानीमा २०१५ सालमा जन्मिएका महरा २०४८ सालमा ३२ वर्ष हुँदा सांसद निर्वाचित भइसकेका थिए । महराले २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव जित्दै प्रतिनिधिसभाको सभामुख भएका थिए। महरा विभिन्न समयमा गरी अहिलेसम्म सभामुखसहित उपप्रधान, परराष्ट्र, अर्थ र गृहमन्त्रीसम्म भैसकेका ठूलो कदका 'कम्युनिष्ट नेता' हुन् । 

मोहम्मद अफताव आलम, नेपाली कांग्रेसका नेता तथा सांसद

नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद मोहम्मद अफताव आलम असोज २६ मा रौतहटबाट पक्राउ परे । आलमलाई २०६४ सालको पहिलो संविधानसभाको चुनावमा राजपुरमा बम बिस्फोट गराएको अभियोगमा आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

आलम पक्राउ लगत्तै सांसद पदबाट निलम्बित भएका छन् । यस घटनामा अनुसन्धानका लागि प्रहरीले थप समय माग गरेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ सम्म म्याद थप गरेको छ । आलम रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद् तथा पूर्वमन्त्री हुन् । आलमले न्यायाधीशसमक्ष सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकाेमा आश्चर्य जनाए। 

प्रमोद साह, राजपा नेता तथा सांसद

साह सर्लाही क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी मंगलबार पक्राउ परेका हुन् । सांसद साहलाई जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो।

उपचारका लागि काठमाडौं हिँडेका एक वृद्धको स्वास्थ्य अवस्था नाजुक देखिपछि आक्रोशित भएर सोमबार बुद्ध एयरको काउण्टर तथा भीआईपी क्षेत्र तोडफोड गरेको सांसद साहले दावी गरेका छन् । सांसद साह पक्राउपछि राजपा कार्यकर्ता रिहाईको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसद साह पक्राउ परेको घटनाप्रति घोर आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मंगलबार विज्ञप्ति जारी गर्दै उनको अविलम्ब रिहाईको माग राखेका छन् । विज्ञप्तिमा एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाउन समेत माग गरिएको छ । बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा सामान्य आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाइएको समेत विज्ञप्तिमा दाबी गरिएको छ।

यसरी नौं दिनमा सभामुखसहित दुई सांसद पक्राउ पर्दा नेपाली जनतामा नराम्रो प्रभाव परेको छ । यसले नेताहरुलाई आचरण बदलिएर समाजसेवामा लाग्न फेरि पनि अभिप्रेरित गरेको छ।

 

प्रकाशित मिति: : 2019-10-16 15:03:33

प्रतिकृया दिनुहोस्