सीको सुरक्षा योजनाले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भयो: गृहमन्त्री

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन्।

सोमबार गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए ।

उनले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निति निर्माणमा संलग्न देखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए । उनले चिनिया राष्ट्रपति सिको भ्रमण ऐतिहाँसिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

 

प्रकाशित मिति: : 2019-10-14 14:25:11

प्रतिकृया दिनुहोस्