काठमाडौंमा बिजुली गाडी चलाउन उर्जाले बनायो यस्तो रोडम्याप

तीन वर्ष अघिसम्म राजधानी काठमाडौंमा विद्युतीय सवारी साधन चलाउने कुरा गर्नु असम्भव गफजस्तो लाग्थ्यो। राजधानीवासी मात्रै होइन, देशभरीका नागरिकको हालत कुन बेला बत्ती आउला र नियमित काम गरुँला भन्ने थियो।

अहिले त्यो कठिन अवस्था क्रमशः अन्त्य भएको छ। र, पर्याप्त मात्रामा बिजुली उपलब्ध हुँदा राजधानी काठमाडौँ अब विद्युतीय सवारी साधन चलाउन सक्ने अवस्थामा पुगेको छ। काठमाडौं मात्रै पनि होइन, अन्य महानगर र नगरपालिका पनि यस्ता योजना बनाउने तर्खरमा छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव प्रविण अर्याल संयोजक रहेको समितिले राजधानीमा विद्युतीय सवारी साधन सञ्चालन सम्बन्धी खाकासहितको प्रतिवेदन गत बुधबार मन्त्री वर्षमान पुनलाई बुझाएको छ।

ऊर्जामन्त्री पुनले २०७५ वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा राजधानीमा विद्युतीय सवारी साधन चलाउन आवश्यक व्यवस्था मिलाइने उल्लेख थियो। त्यसैका लागि नीतिगत व्यवस्था गर्न मन्त्रालयले सचिव अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

मन्त्रालयका सहसचिव तोयानाथ अधिकारी, विद्युत् विकास विभागका उपमहानिर्देशक सन्दीपकुमार देव, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने र मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन कार्यदल सदस्य थिए।

प्रकाशित मिति: : 2019-09-04 15:39:15

प्रतिकृया दिनुहोस्