त्रियुगा नदी नियन्त्रण आयोजनामा अनियमितता, बाँध भत्किएर गाउँ डुबान

तस्बिरः नेपाललाइभ

राजविराज- त्रियुगा नदी नियन्त्रण आयोजना अन्तर्गत गत वर्ष (आव ०७५/०७६) सञ्चालित योजनामा अनियमिता र निर्माण कार्यमा पनि हेलेक्र्याइँ गरेको पाइएको छ। 

नयाँ बाँध निर्माण भएकै स्थानमा बाढीले क्षति गरेपछि अनियमितताको खुलासा हुन थालेको छ भने स्थानीयले पनि उपभोक्ता समितिको आलोचना सुरु गरेका छन्। खरिद गुरु योजना पास भइनसकेकाले गत वर्ष त्रियुगा नदी नियन्त्रणको काम उपभोक्ता समिति मार्फत गराइएको थियो। 

उदयपुरका ३ तथा सप्तरीको १ नगरपालिका गरी कुल २१ वटा उपभोक्ता समितिले नदी नियन्त्रणको काम गरेका थिए। उदयपुरको त्रियुगा र चौदण्डिगढी नगरपालिकामा १७, वेलका नगरपालिकामा ४ तथा सप्तरीको सप्तकोसी नगरपालिकामा ४ वटा उपभोक्ता समिति गठन गरी निर्माणको काम सम्पन्न गरिएको थियो। 

६ अर्ब ८४ करोडको लागत अनुमान गरिएको नदी नियन्त्रण आयोजनाका लागि गत वर्ष कुल १० करोड रुपैयाँ प्राप्त भएको थियो। जसमध्ये सबै स्थानीय तहमा गरी ६ दशमलब १० किलोमिटर तटबन्ध, ५ दशमलब ६४ किलोमिटर रिभेटमेण्ट तथा लन्चिङ र ३ वटा स्टड निर्माण गरिएको कार्यालयले जनाएको छ। 

तटबन्ध निर्माण गरिएका कारण नदी आसपासको ५ हेक्टर जग्गा उकास भएको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ। नदी नियन्त्रण आयोजनाको छुट्टै कार्यालय नभएकाले खाँडो नदी नियन्त्रण आयोजना मार्फत् नै काम सञ्चालनमा छ। 

यसरी भयो अनियमितता 
आयोजना अन्तर्गत गत वर्ष उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा १ हजार ७ सय मिटर तथा चौदण्डीगढी नगरपालिकामा २ किलोमिटर माटो भर्ने र ढुङ्गा जालीको काम गरीएको छ। दुवै नगरपालिमा करिब २/२ करोडको काम भएको खाँडो नदी नियन्त्रण आयोजनाले जनाएको छ। 

यसैगरी, वेलका नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत ८ सय मिटर बाँध र पुरन्दहमा ३ वटा स्टड (स्पर) बनाइएको छ। सप्तरीको सप्तकोसी नगरपालिकामा ४ वटा उपभोक्ता समिति मार्फत् डेढ किलोमिटर बाँध निर्माण गरिएको छ। पुरन्दहमा करिब २ करोड र सप्तकोशीमा करिव अढाइ करोडको काम भएको कार्यालयका इन्जिनियरहरूले जानकारी दिए।

प्रकाशित मिति: : 2019-08-31 08:08:10

प्रतिकृया दिनुहोस्