मानव बेचबिखन अन्तर्राष्ट्रिय सञ्जालको ‘ट्रान्जिट’ बन्यो नेपाल, १ वर्षमा १३ हजार बेपत्ता

काठमाडौं – नेपालमा मानव बेचबिखनको स्वरुप फेरिँदै गएको छ ।

विगतका वर्षमा नेपालबाट ढाका हुँदै विभिन्न देशमा मानव बेचबिखन हुँदै आएका घटना सर्वजनिक हुँदै आएका थिए तर अहिले भने मानव बेचबिखनमा संलग्न तस्करले स्वरुप परिवर्तन गरेका छन् । 

मानव तस्करीको स्वरुप, तरिका र स्थान पनि परिवर्तन गरेको मानव बेचबिखन अनुसन्धान व्यूरोका प्रमुख वरिष्ठ प्रहरी निरीक्षक (एसएसपी) ईश्वरबाबु कार्कीले बताए । 

‘अहिले मानव बेचबिखनमा संलग्नले तरिका र ठाउँ फेरेको देखिन्छ । केही समय अगाडि हामीले पाकिस्तानीहरूलाई काठमाडौंबाट पक्राउ गरेका थियौं,’ कार्कीले लोकान्तरसँग भने ।

वैदेशिक रोजगारीको नाममा हुने श्रमशोषण र मानव बेचबिखनको सञ्जाल विश्वभर फैलिएको छ । विश्वका विकसित देशमा काम लगाइदिन्छु भन्दै मानव बेचबिखन हुने गरेको कार्कीले बताए ।

‘हाम्रो कानूनले वैदेशिक रोजगारीमा हुने ठगीलाई मानव बेचबिखनको रुपमा व्याख्या गरिसकेको छैन तर यसले मानव बेचबिखनमा ठूलो भूमिका खेलेको देखिन्छ,’ उनले भने ।

आन्तरिक रुपमा पनि मानव बेचबिखन भएको देखिएको छ । मसाज सेन्टर, होटल व्यवसायजस्ता व्यवसायका नामका महिलालाई बेचबिखन गरेको देखिएको एसएसपी कार्कीले बताए । 

‘विभिन्न जिल्लाबाट मानिसलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक अंगको व्यापार गर्नेहरू पनि मानव तस्करी लागेको देखिन्छ,’ एसएसपी कार्कीले लोकान्तरसँग भने ।

राष्ट्रिय मानव अधिकार आयोगको ‘मानव बेचबिखन सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७६’मा नेपालबाट भारत र चीन बाहेकका अन्य मुलुकमा मानव ओसारपसार तथा बेचबिखनका घटना उल्लेखनीय रुपमा रहेको उल्लेख गरेको छ ।

प्रतिबन्धित मुलुकमा श्रमका लागि लैजाने, अफ्रिकी मुलुकमा यौन व्यवसाय तथा नृत्यका लागि नेपाली महिलालाई लैजाने, अमेरिका, युरोप र अस्ट्रेलियामा पठाइदिने नाममा भइरहेको मानव तस्करीबारे प्रतिवेदनमा उल्लेख छ । मध्यपश्चिम तथा खाडी राष्ट्रमा वैैदेशिक रोजगारीका नाममा गएका व्यक्तिले भोग्नुपरेका समस्याका आधारमा अन्य राष्ट्रमा भइरहेको मानव बेचबिखनको भयावह अवस्थालाई स्पष्ट पारेको प्रतिवेदनमा उल्लेख छ ।  

प्रकाशित मिति: : 2019-08-30 12:22:38

प्रतिकृया दिनुहोस्