पाँचपोखरी : कठिन यात्रा, रोमान्चक अनुभूति

तस्बिरः नेपाललाइभ

सिन्धुपाल्चोक- सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी पर्यटन वर्ष घोषणा गरिसकेको छ। त्यसैलाई लक्षित गरी सरकारले एक सय 'नयाँ तथा विकास गरिने गन्तव्य'को सूची तयार पार्‍यो। त्यसमै परेको छ, सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र।

समुद्री सतहबाट ४ हजार एक सय मिटरको उचाइमा रहेको पाँचपोखरी ५ वटा भिन्नभिन्न पोखरी रहेको स्थान हो। त्यहाँबाट तलतिर हेर्दा लाग्छ, कतै म आकाशभन्दा निकै माथि त छैन! आफू बसिरहेको डाँडामुनितिर दही भरिएको कचौराजस्तो लाग्ने बादल नै धर्ती हो भन्ने झल्को दिन्छ। कारण बादलले छेकेकाले त्यस मुनिका कुनै भूगोल देख्न सकिन्न।

विशेषगरी जनैपूर्णिमामा विशेष मेला लाग्ने पाँचपोखरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ। पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायत प्रदेश ३ का अधिकांश जिल्लाका दर्शनार्थीहरु आउने गरेका छन्। सिन्धुपाल्चोकको सदरमुकाम चौतारा हुँदै र मेलम्ची नगरपालिका हुँदै दुई रुट भएर जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्छ।

पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ। कान, मुख र हात नीला हुन थाल्छन्। बाटैभर भेटिइने पहेँला झारबाट अनौठो गन्ध आउन थाल्छ। जुन गन्ध तीर्थालुका लागि विष पनि हुन सक्छ। अनि लेक लाग्छ। तर, जति कष्टकर यात्राबाट पुगिन्छ पाँचपोखरी त्योभन्दा आनन्द त्यहाँ पुगेपछि आउँछ। 

इन्द्रावती नदीको उद्गमस्थलका रुपमा रहेको पाँचपोखरीका सबै कुण्डका नामसमेत फरक फरक छ। भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्डका नामले यहाँका पोखरीहरु चिनिन्छन्।

यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थ स्थल भनिएको छ। 

सुनपाती, धुपी, चौरीको दुधबाट बनेको छुर्पी जस्ता चिजहरु यहाँ पाइन्छ। गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन्। सेतो गुराँससमेत पाँचपोखरी जाने रुटमा पाइन्छ। त्यसैले यो रुटलाई पर्यटन व्यवसायीहरुले गुराँसको राजधानीसमेत भन्ने गरेका छन्। 

कसरी पुग्ने?

पाँचपोखरी पुग्न काठमाडौंबाट मेलम्ची भई थाङपालधाप, भोताङबाट जाने एउटा रुट छ।  बर्खाको समयमा थाङपालधापको छिम्तीसम्म बसको यात्रा गर्न सकिन्छ। त्यसपछि सुरु हुन्छ पैदल पदमार्ग। पाँचपोखरी रहेकै साबिकको गाविस भोताङको बजारसम्म बाटो सहज छ। त्यहाँसम्म पुग्दा होटलहरु पाइन्छ। प्रायः पर्यटकहरु यहाँनेर पहिलो बास बस्छन्। दोस्रो दिनदेखि सुरु हुने ठाडो उकालो र जंगलै जंगलको यात्रा केही कष्टकर रहे पनि त्यहाँको सौन्दर्यले दुःख बिर्साउँछ। यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्न लायक स्थान हुन्। बस्ती छाडेर उकालो लागेपछि बीचमा पाइने चौंरी गोठबाहेक बासको विकल्प अरु छैन। केही तीर्थालुहरु समुद्र सतहबाट ३ हजार २ सयको उचाइमा रहेको टपखर्कमा बास बस्दछन् भने केही भने सोही दिन पाँचपोखरी पुग्दछन्।

जिल्लाकै सबैभन्दा ठूलो मेला लाग्ने पाँचपोखरीमा तीर्थालु बढाउन र मेलालाई सभ्य रुपले सम्पन्न गर्न स्थानीयहरु जुट्ने गरेका छन्। सामान्य व्यक्तिलाई उचाइमा पुगेपछि लेक लाग्ने हुँदा तीर्थालुको उद्धार तथा प्राथमिक उपचार र सहयोगका लागि भोलेन्टियर राख्ने गरिएको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। उनका अनुसार पदयात्रीहरुलाई यात्राका क्रममा कुनै अप्ठेरो परेमा भोलेन्टियरले सहयोग गर्नेछन्। अहिले केही स्थानमा टेन्टसमेत राखिएकाले बासको समस्या पहिलेको जस्तो नपरेको तेस्रोपटक पाँचपोखरी यात्राबाट फर्केका मेलम्चीका रमेश अधिकारीले बताए। 

प्रकाशित मिति: : 2019-08-24 07:24:43

प्रतिकृया दिनुहोस्