‘रवि‘ नामको व्यापार

स्व. पत्रकार शालिकराम पुडासैनीको परिवार शोकमा छ । शालिकरामलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा टेलिभिजनकर्मी रवि लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्की चितवनस्थित प्रहरी हिरासतमा छन् । यो प्रकरणमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका आरोपितसहित उनीहरुका परिवार र आफन्त पनि चिन्तामा छन् । कसैले न्याय पाउँदा कुनै निर्दोषले सजाय पाउने हो कि भन्ने चिन्ता चौतर्फी छ ।

तर, यो प्रकरण कतिपयका लागि ‘महोत्सव’ जस्तै बनेको छ । कतिले गीत निकाले, कतिले सस्तो र अपत्यारिलो हेडलाइन अनि कतिले टिसर्ट नै छपाएर बेचिरहेका छन् । रवि लामिछाने चर्चित कार्यक्रम प्रस्तोता हुन् । उनी पक्राउपछि उनको अवस्थाबारे थाहा पाउने जिज्ञासा धेरैमा हुनु स्वाभाविक हो । त्यसैले मान्छेहरु रविबारे खोजीखोजी अनलाइन सामाग्री पढिरहेका हुन्छन्, भिडियो हेरिरहेका हुन्छन् । तर, फेसबुक, युट्युब र कतिपय अनलाइनले भने भ्युअर र भिजिटरलाई भ्रामक र अतियुक्तिपूर्ण दृश्य देखाइरहेका छन् ।

यही ‘मौका’ छोपेर कतिपय भ्लगर युट्युब ‘मनिटाइज’ गराउन सफल भएका छन् भने मनिटाइज भएका युट्युबले डलर तानिरहेका छन् । तर, यो चक्करमा तीमध्ये कतिपयले प्रशारण गरेका भिडियोले सामाजिक सद्भाव र संवेदनशीलतामा खलल पुर्याउने काम गरिरहेको छ ।

एकजना भाइले केही दिनअघि एउटा युट्युब च्यानल सुरु गरेका थिए । चितवन पुगेर आइतबार काठमाडौं फर्किएका उनलाई मैले सोधें, ‘भाइ युट्युब कस्तो चलिरहेको छ ?’ उनको सोझो उत्तर थियो, ‘दाई रवि लामिछाने प्रकरणले युट्युबलाई निकै फाइदा भएको छ, सुरुमा तीन सय सस्क्राइबर थिए, करिब एक हप्तामा तीन हजार पुगेका छन् । युट्युब मनिटाइज भइसक्यो ।’ उनले अगाडि अलि रिस उठ्ने र निर्दयी वाक्य प्रयोग गरे, ‘रवि लामिछाने अझै एक महिनाजति छुटेन भने ५० हजार सस्क्राइबर पक्का हो दाई ।’

अहो ! मन दुख्यो । म आश्चर्यचकित भएँ ।

प्रकाशित मिति: : 2019-08-20 10:58:41

प्रतिकृया दिनुहोस्