रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो?

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने। फाइल तस्विर

२०७४ को माघ महिनाको चिसो साँझमा म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बाहिर निस्केर घर फर्किन नेपाल यातायात कुरिरहेको थिएँ। छेउको फार्मेसीमा दुई महिला औषधिको विषयलाई लिएर पसलेसँग चर्काचर्की गर्दै थिए।

‘यो औषधि हामीलाई नचाहिने भयो, पैसा फिर्ता दिनुपर्छ’ ती महिलाको तर्क थियो।

पसले मानिरहेका थिएनन्। ‘पैसा फिर्ता दिन मिल्दैन, अर्कौ कुनै औषधि लैजानोस्’, उनी भन्दै थिए।

‘पैसा फिर्ता नदिने भए अहिले रवि लामिछानेलाई फोन गरिदिन्छौं’, दुवै महिलाले एकै श्वरमा पसलेलाई चेतावनी दिए।

वादविवाद सकिएकै थिएन। मेरो नेपाल यातायात आइहाल्यो। म गाडी चढेर कपनतिर लागेँ।

पत्रकारिताको विद्यार्थी भएका कारण केही वर्षयता मैले पटक–पटक रवि लामिछानेबारे प्रश्न सामना गरेको छु। मेरा धेरै साथीहरु उनको पत्रकारिता शैलीप्रति प्रश्न गर्छन्। त्यतिबेला मैले यही माथिको प्रसंग सुनाउने गरेको छु। भन्ने गरेको छु, ‘रविले उठाएका मुद्दा आम सर्वसाधारणसँग जोडिएका विषय हुन्। तिनलाई उनले आवाज दिएका हुन्।’

प्रहरी प्रशासन, अदालत र सरकारमाथिको विश्वास उठिसकेका बेला न्यायका लागि पत्रकार सम्झिने अवस्था पत्रकारितामाथिको भरोसा पनि हो। रवि या अरु कोही सञ्चारकर्मीले आमनागरिकको विश्वास जित्नु प्रकारान्तरले पत्रकारितालाई माथि पुर्‍याउनु नै हो। यद्यपि रविको पत्रकारिताको शैलीप्रति मेरो केही बिमति थिए र छन्।

सामाजिक मुद्दाको सिधा उठान
रवि लामिछाने र उनको टिमले वैदेशिक रोजगार विभागमा ठगिएका, म्यानपावरले लुटेका, विदेशमा बिचल्ली परेका, भ्रष्टाचारको पासोमा बेरिएका पिँधका मान्छेका मुद्दा समातेर टेलिभिजन कार्यक्रम बनाए। मूलधारका राष्ट्रिय दैनिकका पहिलो पृष्ठमा स्थान नपाउने, भित्री पृष्ठका कुनामा थन्किने, टेलिभिजन क्यामराले हत्तपत्त नदेख्ने र धेरैले ‘समाचार होइन’ भनेका सामाजिक मुद्दा उनको टोलीले उठाएको हो।

टेलिभिजन पत्रकारितामा भिडियोको मूल्य हुन्छ। जो भिडियोमा देखिन्छ ऊ गुण र दोषको भागिदार बन्छ। यसर्थमा कार्यक्रम प्रस्तोता रवि लामिछाने छोटो समयमै लोकप्रिय बने। यद्यपि उनको टोलीमा पर्दा पछाडि बसेर काम गर्न अरु थुप्रै छन्। शालिकराम पुडासैनीहरु उनकै भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन्। आत्महत्या गर्ने पत्रकार पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेका, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेका भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन्। ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको सफलता शालिकरामहरुको त्यो संघर्षको संयुक्त परिणाम हो। साँच्चै भन्ने हो भने रवि लामिछनेको यो उचाई शालिकरामजस्ता रिपोर्टरहरुको त्यो कठोर संघर्षको पृष्ठभूमिमा ठडिएको एउटा कागजी घरजस्तो मात्रै हो।

साउन २० मा आत्महत्या गरेका पुडासैनीको मोबाइलमा २ भिडियो भेटिएका छन्। भिडियो प्रमाणिकता प्रहरीको डिजिटल ल्याबबाट पुष्टि भएसँगै रविसहित ३ जनालाई पक्राउ परेका हुन्। आत्महत्या ‘दुरुत्साहन’मा भिडियो अकाट्य प्रमाण हो होइन? रवि दोषी हुन् होइनन्? त्यो अदालतले भन्ने नै छ। त्यो बाहेक भिडियोले नेपाली पत्रकारिता क्षेत्रका थुप्रै विषय जर्बजस्ती उजागर गरिदिएको छ।

प्रकाशित मिति: : 2019-08-18 14:45:46

प्रतिकृया दिनुहोस्