‘केपी ओलीलाई पार्टी जिम्मा लगाए लुलो हुन्छ, वामदेव गौतमलाई जिम्मा लगायो भने पार्टी धुलो हुन्छ ।’ ०५१ सालपछि मदन भण्डारीको मूल्याङ्कन भन्दै त्यसबेलाका उदीयमान दुई नेताका बारेमा एमालेभित्र उक्त टिप्पणी गरिन्थ्यो।
पूर्वका केपी शर्मा ओली र पश्चिमका वामदेव गौतम । समकालीन यी दुई नेताबारे अर्को टिप्पणी सुनिन्थ्यो, ‘ओली कुरा गर्न अत्यन्त सिपालु छन् तर पार्टीको काममा असाध्यै अल्छि छन् । गौतम काम चाहिँ अत्यन्तै मेहनत साथ गर्छन्, कुरा गर्न जान्दैनन्, सीधा छन्।’
शायद् ओली र गौतमले पनि सुनेको हुनुपर्छ उक्त टिप्पणीहरु । एमालेभित्र करिब १४ वर्षलामो माधवकुमार नेपालको शासनकालमा दुवैले खुबै पेलाइ खाए । नवौँ महाधिवेशनमा जब यी दुईले गठबन्धन गरे, अनि नेपाललाई समेत पराजय गर्ने शक्ति हासिल गरे । अर्थात्, ओलीको वाकपटुता र गौतमको मेहनत एक ठाउँमा जब उभियो, अनि केपी ओली संसदीय दलको नेता, पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भए।
आँट भएका र जोखिम मोल्न सक्ने नेता हुन्– गौतम र ओली दुवै। ओलीको वाकपटुतामा जब वामदेवको बल मिसियो, ओली सर्वशक्तिशाली भए। गौतमकै पहल र साथ–सहयोगमा दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादीबीच एकता भयो । झण्डै दुईतिहाई बहुमतसहित ओली देशकाे प्रधानमन्त्री बने।
झण्डै एक वर्षदेखि गौतमले ओलीको साथ छाडेका छन् । पार्टीभित्र ओली कमजोर भएका छन् । यतिसम्म कि केन्द्रीय सचिवालयमा समेत ओलीले बहुमत गुमाउन पुगेएका छन्।
पार्टीहित नै मानक
पटक–पटक जोखिम मोलेका नेता हुन्– वामदेव गौतम । उनी सिद्धान्त बुझेका, अत्यन्त क्रियाशील र अध्ययनशील छन् । इतिहास र संस्कृतिमा राम्राे दखल छ उनकाे । कुनैबेला पार्टीभित्र अति आदर्श नेता पनि मानिन्थे उनी ।
आलोचकहरू भन्छन्– जब सत्तामा पुग्छन्, त्यसपछि वामदेवले सारा आदर्श बिर्सन्छन्, याे नै उनकाे सबैभन्दा कमजाेर पक्ष हाे । तर, उनी पार्टीका लागि भनेपछि जे गर्न पनि तयार हुने नेता हुन् । उनीनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘उहाँ पार्टीहित हुन्छ भनेपछि जे पनि गर्न तयार हुनुहुन्छ। साधनको पवित्रता खोज्नुहुन्न । यही स्वभावले उहाँलाई बेलाबखत विवादमा पनि पारेको छ।’
०५० साल जेठ ३ मा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा भएको रहस्यमय जीप दुर्घटनामा मृत्यु भयो । राष्ट्रिय राजनीतिमा वामदेव गौतमको त्यसपछि उदय भएको हो।