फास्ट ट्र्याकमा दबाब झेल्दै सेना, दुई वर्ष डीपीआरमै बित्यो

काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

पाँच महिनादेखि मन्त्रिपरिषद्मै अड्कियो डीपीआर

काठमाडौं। काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको जिम्मा पाएको नेपाली सेना मन्त्रिपरिषद्मा पुगेको डीपीआर स्वीकृत नहुँदा दबाबमा परेको छ । सेनाले २७ साउन २०७४ मा २०७८ साउनभित्र सम्पन्न गरिसक्ने गरी सो सडक निर्माणको जिम्मेवारी पाएको थियो । तर, निर्माणको जिम्मेवारी पाएको दुई वर्ष बित्दासमेत सेनाले निर्माण अघि बढाउन आवश्यक पर्ने डीपीआरको अन्तिम निर्णय प्राप्त गर्न सकेको छैन । डीपीआर नहुँदा सेनाले सो सडकखण्डमा पुल निर्माणसहितका ठूला कामका लागि प्रक्रिया अघि बढाउन सकेको छैन ।

सेनाले गत ५ चैतमा द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा रक्षा मन्त्रालयमा बुझाएको थियो भने रक्षा मन्त्रालयमार्फत गत १२ चैतमा मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्मा पुगेको पाँच महिना बित्दा समेत डीपीआरबारे सेनाले सरकारको निर्णय पाएको छैन ।
डीपीआर स्वीकृत नहुँदा पुल, पर्र्खाल र सुरुङ निर्माणलगायतका ठूला काम अघि बढ्न नसकेको हो । यस्तै, अन्य कामलाई समेत सहज बनाउन सेनाले द्रुतमार्गका सात स्थानमा बेलिब्रिज बनाएर काम अघि बढाउन तयारी थालेको छ । जसअनुसार दुई स्थानमा बेलिब्रिज जडान भइसकेको छ भने अन्य दुई स्थानमा समेत जडान गर्ने तयारी भइरहेको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाले डीपीआरका विषयमा सरकारको नीतिगत निर्णय कुरेर बसेको र निर्णय आएलगत्तै बाँकी सबै काम अघि बढ्ने बताए ।

‘डीपीआरका विषयमा नेपाली सेना सरकारको नीतिगत निर्णय कुरेर बसेको छ । सरकारबाट निर्णय आएलगत्तै बाँकी सबै काम धमाधम अघि बढ्छ,’ नेपाली सेनाका प्रवक्ता पाण्डेले राजधानीसँग भने ।
केही दिनअघि मात्रै सेनाले मन्त्रिपरिषद्मा डीपीआर अड्किएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले डीपीआर स्वीकृतिमा ढिलाइ भएको भन्दै रक्षा मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोखरेलसमक्ष सेनाका तर्फबाट गुनासो राखेका थिए । त्यसलगत्तै प्रधान सेनापति थापाले डीपीआरको अन्योलको गाँठो २४ घण्टाभित्र खोलिदिन सरकारसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति: : 2019-08-13 06:58:04

प्रतिकृया दिनुहोस्