निवृत्तपछि पनि सुरक्षाकर्मी दुरुपयोग

काठमाडौं : नेपाल प्रहरीबाट सेवा निवृत्त अधिकांश उच्च अधिकारी सरकारी पेन्सन खाएर निजी कम्पनीमा काम गर्दै आएका छन्। उनीहरूले सरकारी तलबभत्ता खाएका बहालवाला सुरक्षाकर्मीलाई पनि आफूसँगै लगेर दुरुपयोग गरेको पाइएको छ।

सुरक्षा निकाय र अन्य सरोकारवाला पक्षसँग सहज पहुँच भई काम लिन सजिलो हुने भएकाले निजी कम्पनीले सेवा निवृत्त प्रभावशाली उच्च अधिकारीलाई लिँदै आएका छन्। उनीहरूले काम गरेका निजी कम्पनीमा जलविद्युत्, उड्डयन, अस्पताल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, धार्मिक संघसंस्था, खेलकुद संघसंस्था छन्।

जौमतिको चिन्ता : छोरी बिक्दिन कि!

पदमा रहँदा गृह मन्त्रालय र प्रहरी नेतृत्वसँग निकट सम्बन्ध भएका त्यस्ता उच्च अधिकृत अहिले कर्पाेरेट जागिरे भएका हुन्। यसैगरी प्रहरी संगठनबाट तलब खाने तल्लो दर्जाका सुरक्षाकर्मीलाई निवृत्त अधिकृतले निजी काममा प्रयोग गरिरहेको तथ्य फेला परेको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको तर गोप्य राखेको ‘आन्तरिक निर्देशिका’ लाई टेकेर पूर्व प्रहरी अधिकृतले सुरक्षाकर्मीलाई धमाधम व्यक्तिगत काममा प्रयोग गरेका हुन्।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रमेशशेखर बज्राचार्य हिमाल हाइड्रोपावरमा काम गर्छन्। बज्राचार्यले एक जना सुरक्षाकर्मी सवारीचालकका रूपमा प्रयोग गरेका छन्। बज्राचार्य भन्छन्, ‘३० वर्ष संगठनमा काम गरियो, धेरै चुनौती मोलियो अहिले एक जना प्रयोग गर्नु नौलो विषय होइन।’

दाइ, म किन नजाउँ विदेश ?

तत्कालीन समयमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग निकट रहेका बज्राचार्य एआईजी हुँदा मानव स्रोतसाधन विभाग प्रमुख थिए। बज्राचार्य मात्रै होइन, अन्य पूर्व प्रहरी उच्च अधिकृतले सुरक्षाकर्मीलाई निजी काममा प्रयोग गरिरहेका छन्।

पूर्व एआईजी राजेन्द्रबहादुर सिंह थापाथलीस्थित नर्भिक हस्पिटलमा काम गर्छन्। उनले पनि निर्देशिकामै टेकेर एकजना सुरक्षाकर्मी चालकका रूपमा प्रयोग गरेका छन्। सिंह भन्छन्, ‘त्यसो हो भने कुनै सुविधा नै नदिए भइहाल्यो नि ? म कार्यालय जाँदा सुरक्षाकर्मी प्रयोग गर्दिनँ। निजी कामका लागि मात्रै चालक प्रयोग गर्छु।’

अर्का पूर्व एआईजी विज्ञानराज शर्मा अहिले माउन्टेन हेलिकोप्टरको अध्यक्ष छन्। डीआईजी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख र एआईजी हुँदा उपत्यका प्रहरी प्रमुख रहेका शर्माले दुई जना सुरक्षाकर्मी प्रयोग गरेका छन्। ‘मैले नियमअनुसार नै सुरक्षाकर्मी लिएको हुँ, धेरैले लिएका छन्, लिँदै नलिने कमै होलान्’, शर्माले भने, ‘यसलाई दुरुपयोग गर्‍यो भन्न मिल्दैन।’

पूर्व एआईजी विजयलाल कायस्थ प्रदेश नं. २ को सुरक्षा सल्लाहकार हुन्। उनको घरमा पनि दुई जना सुरक्षाकर्मी कार्यरत छन्। उनी आफ्नो घरमा सुरक्षाकर्मी रहेको स्वीकार्छन्। तर, प्रहरी मुख्यालयको रेकर्डमा भने कायस्थको घरबाट दुईजना सुरक्षाकर्मी रहेको देखिँदैन। कायस्थ भन्छन्, ‘कसलाई कति सुरक्षाकर्मी दिने भनेर आन्तरिक निर्देशिका बनेको छ। त्यही निर्देशिकाअनुसार मैले पनि राखेको हुँ। यसमा अन्यथा लिनुपर्ने देख्दिनँ।’

प्रकाशित मिति: : 2019-08-11 13:34:09

प्रतिकृया दिनुहोस्