तिब्बती शरणार्थी नागरिकता प्रकरण नागरिकता लिने दुई तिब्बती युवतीसहित ८‍ पक्राउ, ६ कर्मचारीलाई विभागीय कारवाही

पोखरा– झुठो विवरण पेस गरी तिब्बती शरणार्थीलाई नागरिकता दिलाउन सहयोग गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

तिब्बतीलाई छोरी बनाइ जिल्ला प्रशासन कार्यालय कास्कीमा पेश गरेको झुठो विवरणमा सनाखत गर्ने पोखरा–१८ सराङकोटका लेखबहादुर थापा, नागरिकता लिने २ युवतीसहित सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो।

तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीका छोरी (नातिनी) लाई नागरिकता दिलाउन लेखबहादुरले बाबु भएको झुठो विवरण पेस गरेको खुलेको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताएका छन्।

नेपाली आमा र तिब्बती बाबुबाट जन्मिएका सरु थापा मगर र तासी आङ्मो थापा मगरले जेठ २६ र असार ६ गते जिल्ला प्रशासन कास्कीबाट नागरिकता लिएका थिए।

लेखबहादुर थापका छोरी बनेर सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६–०१–०७६–०१६३३ नम्बरका दुई नागरिकता जारी भएका छन्।

सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन्। कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ।

सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर समेत प्रहरी हिरासतमा छन्। जिल्ला प्रशासन कास्कीले गरेको अनुसन्धानपछि ८ जना पक्राउ परेको सिडिओ बुढाले जानकारी दिए।

उनीहरु विरुद्ध मुद्दा चलान गरी थप कारवाही अघि बढाउन पक्राउ गरेको प्रजिअ बुढाले बताए। ‘लेखबहादुरले २ जनालाई आफ्नो छोरी भएको दाबी गर्छन् तर उनीहरु उनको छोरी होइनन् भन्ने स्पष्ट भयो,’ उनले भने, ‘वडामा पहिले वास्तविक बाबुको नाम र पछि हजुरबुबा अर्थात् लेखबहादुरको नाम उल्लेख भएको जन्मदर्ता भेटिएको छ।’

लेखबहादुरकी १ छोरी तिब्बतीयन नागरिकसँग विवाह गरेको र उनीहरुका २ छोरीलाई वंशजका आधारमा नागरिकता दिलाउन लेखबहादुरले झुठो विवरण पेश गरेको खुल्ल आएको हो।

विद्यालयको अभिलेखमा समेत उनीहरुको वास्तविक बाबुको नाम उल्लेख भएको प्रजिअ बुढाले बताए। ‘विद्यालयमा भर्ना गर्दा वास्तविक बाबुको नाम तर नागरिकता लिन पेश गर्दाको सर्टिफिकेटमा लेखबहादुरको नाम छ,’ उनले भने, ‘प्रशासनको अनुसन्धानपछि ती २ युवती लेखबहादुरको छोरी होइन भन्ने कुरा पुष्टि भएको छ ।’

प्रकाशित मिति: : 2019-08-11 12:54:04

प्रतिकृया दिनुहोस्