भ्वाइसले पूरा गरिदियो चर्चित हुने सपना

पहिलो भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारी।

२४ साउन, काठमाडौं । गाउन त उनी पहिले पनि गाउँथे । सुर–ताल उही हो, स्वर उही हो । मान्छे उही । तर हिजो र आजको समय उस्तो रहेन । हिजोभन्दा आज फरक भइदियो सिडी विजय अधिकारीको जीवनमा ।

हिजो गुमनाम थिए, आज सबैमाझ चिनिएका छन् । सिडी विजय अधिकारी भन्नासाथ धेरैले उत्सुकतापूर्वक सोध्छन्, ‘ए, भ्वाइस अफ नेपालका विजेता ।’

त्यसपछि सुरु हुन्छ उनको गुणगान र चर्चा । उनको स्वर कस्तो छ, प्रस्तुति कस्तो छ, गेटअप कस्तो छ । अनि सोधीखोजी हुन्छ, हिजो उनी कहाँ थिए, के गर्थे ?

जब कसैले सार्वजनिक चिनारी बनाउँछ, उनको जीवनप्रति स्वभाविक चासो बढ्छ । उनको विगत, संघर्ष र सफलताका कुरा खोतलिन्छ, जो घतलाग्दा पनि हुन सक्छन् । पोखरादेखि दुबई हुँदै काठमाडौंसम्म फन्को मारिरहँदा सिडी विजय अधिकारीको जीवन के–कस्ता मोडबाट गुज्रिए त ?
एक सांगितिक प्रतियोगिताबाट उनको जीवन कसरी बदलियो ? आफ्नै दुनियाँमा रमाइरहेको ठिटो रातारात सेलिब्रेटी बनेपछिको अनुभव कस्तो रह्यो ? कथा रमाइलो छ ।

सांगितिक क्षेत्रका प्रतिभा खोज्ने टेलिभिजन रियलिटी शो ‘नेपाल आइडल’को पहिलो संस्करण पूरा भएसँगै त्यसका विजेता, उप–विजेता एवं सहभागीहरुको चर्चा चुलियो ।

उनीहरु एकाएक सेलिब्रेटी बने, चोक, गल्लीमा चर्चा चल्यो । यो तामझाम देखेपछि सिडी विजय अधिकारीलाई डाहा भयो । पोखरामा बसेर गीत÷संगीतमै लीन भइरहेका उनलाई लाग्यो, ‘आहा ! म पनि गएको भए त हिट हुनेरहेछु ।’

हुन त ‘नेपाल आइडल’मा सहभागी हुन साथीभाइले आग्रह गरेका पनि थिए । उनलाई जाँगर चलेन । किनकी एक हिसाबले उनी संगीतमा भिजिसकेका थिए । केही दिग्गज संगीतकर्मीसँग काम पनि गरिसकेका थिए । सांगितिक वृत्तमा आफ्नो चिनारी बनाउँदै थिए । त्यही कारण उनलाई दायाँबायाँ गर्न रहर जागेन ।

जसै नेपाल आइडलले एउटा तरंग पैदा ग¥यो, उनी वेचैन भए । उनलाई लाग्यो, ‘अब दोस्रो मौका गुमाउनु हुन्न ।’ अर्थात सिजन–२ मा जसरी पनि भाग लिनुपर्छ ।

संयोग कस्तो भइदियो भने, ठीक त्यहीबेला अर्को रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आउने खबर आयो । सिडीले सोचे, ‘नेपाल आइडल गएँ र जितेँ नै भने पनि दोस्रो सिजनको विजेता बन्छु । तर, भ्वाइसमा गएँ भने त पहिलो सिजनकै विजेता बन्नसक्छु ।’ उनी कीर्तिमानी विजेता बन्ने निक्र्यौलमा पुगे ।
त्यसपछि सुरु भयो, भ्वाइस अफ नेपालको तयारी ।

प्रकाशित मिति: : 2019-08-09 13:07:23

प्रतिकृया दिनुहोस्