राजाबारे बालुवाटार-खुमलटारबीच आशंका र अविश्वास

काठमाडौं, साउन २३ : नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटार।

दुई अध्यक्षबीच औपचारिक सम्बन्ध सुमधुर नै देखिए पनि दुई अध्यक्षको कित्तामा उभिएर गरिएका व्यवहारमा भने चरम आशंका र अविश्वास बढेको छ। पछिल्लो पटक  अपदस्थ राजा ज्ञानेन्द्र शाहबारे बालुवाटार–खुमलटारको गम्भीर आशंका प्रकट भएको हो।

भारतमा नरेन्द्र मोदी भारी बहुमतका साथ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिएलगत्तै नेपालमा राजतन्त्र पुनर्उत्थानवादीहरूले सक्रियता बढाएको विश्लेषण हुन थालेकोबेला सत्तारुढ नेकपामा यो आशंका बढेको हो।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नु अघिल्लो दिन बिहान रक्षामन्त्री ईश्वर पोखरेलले पूर्वराजा शाहलाई भेटेको भन्ने समाचारपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उत्तेजित भएका हुन्। 

प्रचण्ड त्यसको तीन दिनअघि नै युएईको राजधानी दुबई पुगेका थिए । प्रचण्ड विदेश हिँडेको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्य परीक्षण गर्न सिंगापुरतर्फ जाँदै थिए। त्यसको एक दिनअघि शाहसँग रक्षामन्त्रीले भेट गरेको समाचारले प्रचण्डमा गम्भीर आशंका जन्माएको थियो। 

प्रधानमन्त्री ओली क्याम्पका ‘सेकेन्ड म्यान’ पोखरेलप्रति साविक माओवादीहरू अत्यन्त अनुदार छन् । पार्टी स्कुल विभाग प्रमुख कुनै पनि हालतमा पोखरललाई नदिने प्रचण्ड खेमाको अडान छ। पार्टी एकता गर्दा पनि प्रचण्डले नरुचाएका कारण महासचिवबाट हटाइएका नेता हुन्– रक्षामन्त्री पोखरेल।

प्रकाशित मिति: : 2019-08-08 17:32:39

प्रतिकृया दिनुहोस्