टाइगर प्यालेस खरिद डिल गर्ने ‘डमी’ इन्द्रबहादुर, कसले ल्याउँदै छ मलेसियाबाट स्रोत नखुलेको पैसा ? (थापाको अन्तर्वार्तासहित)

केही दिनअघि नेपालको कर्पाेरेट क्षेत्रमा नामै नसुनिएका इन्द्रबहादुर थापाले भैरहवाको टाइगर प्यालेस रिसोर्ट खरिद गर्न डिल गरेको समाचार आयो । अस्ट्रेलियाको लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले नै सूचना जारी गरेपछि पहिलो समाचार इन्साइड एसिसन गेम अनलाइनले ३१ जुलाई २०१९ मा लेख्यो । त्यसपछि त्यही समाचार नेपालको एक अङ्ग्रेजी दैनिकले लेख्यो । पत्रिकामा आएको समाचारलाई केही अनलाइनले साभार गरे । तर कुनै पनि मिडियाले इन्द्रबहादुर थापाको फोटो प्रकाशित गरेनन् । 

२० अर्ब बैङ्कमा रहेको ‘स्टेन्टमेन्ट’ सिल्भर हेरिटेजलाई बुझाएपछि सिल्भर हेरिटेजले थापालाई होटल बेच्न राजी भएको समाचार पनि प्रकाशित भयो । थापा मलेसियन नेपाली भएको र उनका पुर्खा वर्षाैंदेखि मलेसियन नागरिक रहेको पनि सार्वजनिक भयो । मलेसियामा रहेका नेपालीमध्ये सबैभन्दा धनी भनेर दाबी गरिएका थापालाई मलेसियामै रहेका अधिकांश नेपाली व्यवसायीले समेत चिन्दैनन् । 

नेपालका व्यवसायी र मलेसियामा रहेका नेपाली व्यवसायीमाझ परिचित नभएका थापाले एकै पटक झन्डै ४ अर्बमा कसरी होटल खरिद गर्दै छन् भन्ने चासोले कर्पाेरेट क्षेत्रमा बहस छेडिएको छ । यस विषयमा क्यापिटल नेपालले गरेको अध्ययनमा उनको नाममा कसैले होटल खरिद गर्न थापालाई अगाडि सारेको देखिन्छ । 

मलेसियामा रहेका ११ नेपाली व्यवसायी, मलेसियास्थित नेपाली दूतावास, नेपालका केही व्यवसायी र स्वयम् थापासँगको कुराकानीबाट उनको नाममा मलेसियाबाट नेपालमा पैसा पठाएर अरु कसैले होटल खरिद गर्ने अन्तिम तयारी रहेको बुझ्न गाह्रो हुँदैन । 

क्यापिटललाई प्राप्त केही डकुमेन्टअनुसार थापा २९ वर्षदेखि मलेसियामा बस्दै आएका छन् । तर उनी आफैं भने ३१ वर्षदेखि मलेसियामा बस्दै आएको बताउँछन् । उनी मलेसियन नेपाली भने होइनन् । नेपालको सङ्खुवासभा घर भएका थापाले मलेसिया रोजगार भिसामा गएर ‘इम्प्लोमेन्ट पास’ बनाएका छन् । यस्तो पास मलेसियामा रहेका सयौं नेपालीले बनाएको पाइन्छ । उनको पासको अवधि सन् २०२४ मे १७ सम्म छ । थापाकी श्रीमती राधा बूढाथोकी मगरले केही समय अघिसम्म नेपालमा पत्रकारिता गर्थिन् । किशोर नेपाल नेपाल पत्रकार महासङ्घका सभापति भएका बेला उनी उपसभापति थिइन् ।  

सञ्चारमाध्यममा होटल खरिद सम्झौता गर्न बैङ्कमा नगद २० अर्ब भएको ‘स्टेन्टमेन्ट’ दिइएको विषयमा भने थापाले नै अस्वीकार गरे । ‘त्यत्रो पैसा कहाँबाट हुनु ? चानचुन पाँच अर्ब होला, त्यो पनि मैले धेरै ठाउँबाट व्यवस्थापन गरेको हुँ,’ उनले भने । 

थापाको प्रोफाइलअनुसार पाँच अर्ब रकम भनेको पनि धेरै नै देखिन्छ । थापाको खातामा एकाएक बढी पैसा देखिएपछि नेपाल राष्ट्र बैङ्कले अनुसन्धान थालेको छ । राष्ट्र बैङ्क स्रोतका अनुसार थापाको दुई ओटा बैङ्कमा शङ्कास्पद रकम देखिएको र त्यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । ‘रकम अस्वाभाविक देखिएपछि हामी अहिले अनुसन्धानमा छौं, अहिले यति मात्र भन्न मिल्छ,’ राष्ट्र बैङ्क स्रोतले भन्यो । यसअघि उनले जारी गरेका दुई ओटा चेक बाउन्स भएका थिए ।  

प्रकाशित मिति: : 2019-08-07 16:55:19

प्रतिकृया दिनुहोस्