जसले 'हरेक' नेताको कठालो समाते

काठमाडौं- माधवबहादुर थापा, एक अवकाशप्राप्त प्रहरी अधिकृत। उनले अवकाश पाएको १० वर्ष भयो। तर, यो एक सय २० महिना उनलाई एक दिन फुर्सद छैन। जसरी जागिरका ३ सय ६० महिना एक सेकेन्ड पनि फुर्सद थिएन।

जागिरको समय काममा खटिएर फुर्सद नपाएका माधव अहिले ती दिनको सम्झनामा बेफुर्सदी छन्। यसैले माधवको परिचय जागिरका दिनहरूमा पुगेर लिनुपर्छ। अहिलेका ‘शान्त’ माधवलाई हेर्ने हो भने उनी विगतमा यति ‘कठोर’ थिए भन्ने अनुमान गर्न सकिँदैन।

यो पनि पढ्नुस्

कालिकोटमा साँच्चैको नमूना स्कुल

तब त भनेको माधवलाई खोज्न उनले कठबाँस चलाएका दिनहरूमा पुग्नुपर्छ। बन्दुक बोकेर हिँडेका कुइनेटा नियाल्नुपर्छ, एम्बुसबाट बाँचेका मोडहरू हेर्नुपर्छ। या त आन्दोलनमा अगाडि देखिने पुराना फोटाहरू हेर्दा हुन्छ, उनले कठालो समातेका हरेक नेताहरूलाई सोध्दा पनि हुन्छ।

यसैले माधव भन्छन्, ‘मेरो बारेमा बुझ्न अहिलेका जल्दाबल्दा नेताहरू जसलाई सोध्दा पनि हुन्छ। मेरो बारेमा उनीहरूलाई एक-एक थाहा छ। कुन समयमा कसलाई पक्राउ गरेँ, कहाँ-कहाँको हुलदंगामा के-के भयो? मेरा हरेक विषयमा नेताहरू नै जानकार छन्।’

आन्दोलन र हुलदंगा हुने ती दिनका पत्रिका पल्टाउँदा, एल्बम हेर्दा, भिडियो हेर्दा पनि माधव पक्कै भेटिन्छन्। तर, हामी भने उनलाई प्रत्यक्ष भेट्न अनेक उपाय छाडेर उनको निवासमै पुगेका छौँ।

यो पनि पढ्नुस्

फ्रान्सका एउटा सालिक, जसको प्रजनन अंग मुसारेर आमा बन्ने सपना देख्ने लाखौं फ्रेन्च महिलाहरू

धुम्बाराही पिपलबोट नजिकै छ माधवको घर। घरभित्र छिर्ने बित्तिकै उनका जागिरे सम्झनाले स्वागत गरिहाल्छन्। आकर्षक आँखिझ्यालको लहरै उनले तस्बिर सजाएका छन्। कुनै स्टुडियोमा वा कतै सुन्दर फूलबारीमा खिचाएका तस्बिर होइनन् यी। तस्बिरमा माधव आन्दोलनमा खटिँदाका क्षणहरू छन्।

‘मसँग अहिले भएका तस्बिरहरू त प्रायः प्रधानमन्त्री भइसकेका नेताहरूको मात्र हो। त्यो पनि फोटो पत्रकारहरूले जुन-जुन पठाइदिए, तिनै तस्बिर मात्रै छन्। होइन भने त मेरा तस्बिरहरू घरमै नअटाउने जति होलान्,’ उनले तस्बिरसँग जोडिएका तथ्य सुनाउन थाले।

घरभित्र सजाएका तस्बिर, प्रमाणपत्र र पदकहरू देखाइरहँदा माधव भन्छन्, ‘मैले पाएका यी प्रमाणपत्र र पदकहरूले नै मलाई मृत्युपछि जलाउन पुग्छ!’

आफ्नो मृत्युबारे सहज हुनसक्ने आँट माधवले यसै आर्जेका होइनन्। उनको कामलाई फर्केर हेर्ने हो भने उनी सयौँपटक मृत्युको मुखबाट निस्किएका छन्। कतिलाई मृत्युकै मुखबाट निकालेका छन्...

प्रकाशित मिति: : 2019-08-04 21:09:58

प्रतिकृया दिनुहोस्