३७ हजारमा जापान उडान, किन पाउँदैन निगमले यात्रु ? नियमित उडानमै शङ्का !

काठमाडौं । नेपाल वायुसेवा निगमले ११ वर्षपछि जापानको ओसाकामा सीधा उडान गर्ने भएको छ । आउँदो भदौ १२ गतेबाट ओसाकाको कान्साई विमानस्थलमा उडान गर्ने आन्तरिक तयारी पूरा गरेको छ । निगमले सन् २००८ बाट जापान जाने उडान बन्द गरेको थियो ।

लामो समयपछि राष्ट्रिय ध्वजावाहक जहाजमार्फत जापानको ओसाकामा उडान गर्ने तयारी गरे पनि पर्याप्त यात्रु पाउन सकेको छैन । ‘अन्य एयरलाइन्सले भन्दा सस्तो भाडा र सीधा उडान गर्दा पनि यात्रु नपाउनु दुखद हो,’ निगमका उच्च अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यात्रु किन कम नआएका हुन्, यस विषयमा गहन अध्ययन भइरहेको छ ।’ यात्रुलाई आकर्षित गर्न विभिन्न प्याकेज ल्याउने निगमको तयारी छ । 

निगमले सुरुआती चरणमा १ महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडादर तोकेको छ । तर, यात्रुको चाप भने न्यून छ ।

यात्रु जति नै भए पनि निगमले उडान तालिका भने नसार्ने बताएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले १२ गतेबाट नियमित उडान गर्ने जानकारी दिए । सुरु सुरुमा यात्रुहरु थोरै भए पनि पछि बढ्दै जाने अपेक्षा उनको छ ।

निगमले १ वर्षअघि खरिद गरेका २ ओटा वाइडबडी जहाजले लामो दूरीमा उडान नगरेको भन्दै आलोचना भइरहेका बेला लामो र नयाँ गन्तव्यमा पहिलो पटक उडान गर्न लागेको हो । यसअघि दुई पटक तालिका फेर्दै आएको निगमले यस पटक भने निर्धारित समयमै उडान गर्ने गरी तयारी गरिरहेको छ ।

विगत पाँच वर्षदेखि जापान अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको पानासिया एजुकेसन फाउन्डेसनका सञ्चालक लीलाराम खड्काले निगमले नियमित उडान गर्ने टुङ्गो नै नभएका कारण पर्याप्त यात्रु नपाएको बताउँछन् । नियमितरुपमा उडान गरेमा अधिकांश नेपालीहरु निगमकै जहाजमा जान इच्छुक रहेको उनको भनाइ छ ।

अन्य एयरलाइन्समा जाँदा ४ देखि २४ घण्टासम्म ट्रान्जिट पर्ने र विभिन्न झन्झट बेहोर्नुभन्दा सीधा जाने निगमकै जहाजमा विद्यार्थीहरु जापान पठाउन आफूहरु तयार रहेको सञ्चालक खड्काको भनाइ छ । हाल नेपालबाट जापानका लागि विभिन्न एयरलाइन्सहरुले ४० देखि ५५ हजार रुपैयाँमा एकतर्फी उडान गर्दै आएको छ ।

सीधा उडान हुने र भाडादर पनि सस्तो हुने भएकाले नियमित उडान गरेमा धेरै नेपालीहरु निगमकै जहाजमा यात्रा गर्ने जापानमा रहेका नेपाली विद्यार्थी सुन्दर योञ्जनको भनाइ छ । निगमले लामो समयदेखि जापान उडान गर्ने हल्ला गरे पनि नियमित उडान नभएकै कारण यात्रुहरु नपाएको हुनसक्ने उनको भनाइ छ । 

ओसाकाबाट नेपालीहरु बस्ने ठाउँसम्म पुग्न विमानस्थलबाट ट्रेनमा २ देखि ४ घण्टासम्म लाग्ने योञ्जनको भनाइ छ । ‘अन्य एयरलाइन्समा लामो समयसम्म ट्रान्जिटमा बस्नुभन्दा ४ घण्टा ट्रेनको यात्रा गर्नु नै बेस हुन्छ,’ क्यापिटलसँग कुरा गर्दै योञ्जनले भने, ‘तर निगमले नियमित उडान चाहीँ गर्नुपर्यो ।’ 

प्रकाशित मिति: : 2019-08-04 18:55:27

प्रतिकृया दिनुहोस्