६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने

तस्बिरः गोरखापत्र

काठमाडौँ, साउन १८ गते । झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपियाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको लगानी बोर्डको बैठकले पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ स्वीकृत गरेको हो । सो पार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन 

(डीपीआर) तयार गर्न समेत स्वीकृति प्रदान गरेको जानकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिनुभयो । 

तिब्बतको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानीमा ‘दमक क्लिन इन्डस्ट्रियल पार्र्क’ नाम दिएको सो पार्क निर्माण हुन लागेको हो । 

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रदेश १ को राजधानी विराटनगरमा ‘लजिस्टिक पार्क’ निर्माण गर्नका लागि सीजी ग्रुप र सर्राफ ग्रुपलाई अध्ययन गर्ने अनुमति दिइएको जानकारी समेत प्रमुख कार्यकारी अधिकृत अधिकारीले दिनुभयो । यो पार्क निर्माणका लागि भदौमा सम्पन्न लगानी सम्मेलनमा सीजी ग्रुप र सर्राफ ग्रुुपबीचमा समझदारी पत्रमा (एमओयू)मा हस्ताक्षर भएको थियो । 

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष ओलीले कसरी परियोजनाहरूको कार्यान्वयन छनोटका कार्यहरू चाँडो छिटोछरितो गर्न सकिन्छ र त्यसका उपायहरू चाँडोभन्दा चाँडो लिएर आउन निर्देशन दिनुभएको जानकारी प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । 

समझदारी पत्रको कार्यान्वयन स्वरूप अध्ययन गर्न अनुमति दिइएको जानकारी समेत उहाँले दिनुभयो । विराटनगरमा निर्माण गरिने पार्कको निर्माण लागत सात अर्ब १८ करोड रुपियाँको रहेको छ । त्यसैगरी, बैठकले प्रदेश २ को राजधानी जनकपुरमा ‘लजिस्टिक पार्क’ निर्माणका लागि स्वीकृति प्रदान गरिएको जानकारी उहाँले दिनुभयो । यो पार्क निर्माणको जिम्मेवारी नेपाली कम्पनी ग्रीन इन्भेस्टलाई दिनका लागि स्वीकृति प्रदान गरिएको हो । उक्त पार्कको कुल निर्माण लागत ६ अर्ब २० करोड रुपियाँ रहेको छ । 

प्रकाशित मिति: : 2019-08-03 07:26:55

प्रतिकृया दिनुहोस्