५ सय वर्ष पुरानो क्वथुननी बचाउन हस्ताक्षर अभियान

काठमाडौं: गुठी संस्थानले असनमा रहेको ५ सय वर्ष पुरानो क्वथुननी भत्काएर व्यापारिक कम्पलेक्स बनाउने तयारी गरेपछि स्थानीयहरुले विरोध गरिरहेका छन्।

क्वथुननी बचाउ संघर्ष समितिको अगुवाइमा गत जेठ १९ गतेबाट सुरु भएको हस्ताक्षर संकलन कार्यक्रम उपत्यकाका तीनै जिल्लामा संचालन गरिएको थियो। हालसम्म करिब १५ हजार हस्ताक्षर संकलन भएको समितिले जनाएको छ।

यो पनि पढ्नुस्

मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु

संकलन गरिएको हस्ताक्षर र ज्ञापनपत्र प्रधानमन्त्रीका साथै भूमिसुधार मन्त्रालय, गुठी संस्थान र काठमाडौं महानगरपालिकालाई बुझाउने तयारी भइरहेको कार्यक्रममा बताइएको थियो।

विविध विरोधका कार्यक्रमकाबीच पनि गुठी संस्थानले भवन मासेर व्यापारिक कम्पलेक्स बनाउन लागेको भन्दै भदौ ११ गते गुठी संस्थान घेराउ गर्दै गुठीका पदाधिकारीलाई सचेत गराउने समितिका संयोजक नमस्ते सयामिले बताए।

यस्तै अबका दिनमा महानगरपालिकाका साथै प्रधानमन्त्रीलाई समेत क्वथुननीको अवस्थाबारे जानकारी दिने उनले बताए।

कार्यक्रममा काठमाडौं ६ का प्रतिनिधि सभा सांसद भीमसेनदास प्रधानले अब असन बचाउन असनकै जनता जागरुक हुनुपर्ने बताए। भने,' कांग्रेस कम्युनिस्ट भनेर बस्ने समय होइन। अहिले हामीले हाम्रो सम्पदा नबचाए कसले बचाउने। त्यसैले अब पार्टीको होइन नेपालको राष्ट्रिय झण्डा बोकेर सडकमा आउनुपर्छ र यसको पहल हाम्रो सरकारमा रहेका साथीहरुले गर्नुपर्छ। '

प्रधानले अब असनलाई ऐतिहासिक व्यापारिक नगरीका रुपमा विकास गर्नुपर्ने भन्दै स्थानीय सरकारले त्यसको नेतृत्व लिनुपर्ने बताए। उनले असनको अस्तित्व यहाँ बन्दै गरेका आधुनिक घरहरु सँगै हराउँदै गएको भन्दै अब असनमा मौलिकता झल्कने संरचना बनाउने बेला आएको तर्क गरे।

गुठीका लागि कांग्रेस भन्दा कम्युनिष्टका साथीहरु नै बढी भएको भन्दै उनले सरकारलाई दबाब सिर्जना गर्न नसके फेरि  विधेयकमा भएको विरोध दोहोरिन सक्ने तर्फ सचेत गराउँदै भने,' राजा बाँकी  नराख्नेले नेता भनेर छुट दिँदैन,बाँकी राख्दैन। माइतीघरमा भएको आन्दोलन सरकारका लागि पाठ हो। नभए फेरि दिशाबिहिन आन्दोलन हुन सक्छ।'

नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ७ 'क' का प्रदेश सभा सांसद बसन्त मानन्धरले पनि सम्पदा बचाउने काम सरकारको भएको भन्दै सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए।   

जनतालाई ऐतिहासिक क्वथुननीबारे जानकारी दिन र यस्ता सम्पदाहरुको संरक्षण गर्न जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान संचालन गरिएको क्वगथुननीमा बस्दै आएका सजिब बज्राचार्यले बताए।

गुठी संस्थान अन्तर्गत 'श्री ५ को वायु देवता गुठी'को नाममा रहेको उक्त जग्गामा ११ परिवारले पसल संचालन गर्दै आएका छन्। ३ परिवारका १५ जना सोही घरमा बस्दै आएका पनि छन्। व्यापार र बसोवास गरेवापत उनीहरुले गुठी संस्थानलाई पहिलेदेखि नै भाडा तिर्दै आएका थिए।

प्रकाशित मिति: : 2019-08-02 19:21:11

प्रतिकृया दिनुहोस्