केटीहरूलाई 'सहज बनाउने' उपहार

तस्बिरः सेतोपाटी

श्रीमती, दिदीबहिनी, छोरी वा केटी साथीको जन्मोत्सवमा तपाईं के उपहार दिनुहुन्छ?

सामान्यतया फूलका गुच्छा, सजावट वा श्रृंगारका सामान वा लुगाफाटा तपाईंको रोजाइमा पर्लान्।

यीभन्दा नौलो र उपयोगी केही दिने सोचमा हुनुहुन्छ भने विकल्प छ- 'द शी थिङ'।

द शी थिङ- अर्थात् महिलाका कुरा।

महिनावारी बेलामा चाहिने स्यानिटरी प्याड, रुमाल, पेन्टी लाइनर (पातलो र सानो प्याड), क्र्याम्प प्याच (दुखाइ कम गर्न पेटमा टाँसिने), ग्लिसिरिन, चकलेट, चिया (टी ब्याग), लोसन, फेस मास्क लगायत सामानहरू भएको 'गिफ्ट बक्स।'

हाम्रो समाज जहाँ महिनावारी अझै वर्जित नै छ, लाजको कुरा मानिन्छ र प्याड लुकाइन्छ, त्यहाँ यस्तो उपहार!

'द शी थिङ' को उद्देश्य यही पुरातन सोच परिवर्तन गर्ने हो।

द शी थिङ कुनै पसल होइन। यो एउटा समूह हो जसले आफ्ना सदस्यहरूलाई महिनावारीका समयमा चाहिने सबै आवश्यक सामान एउटा बाकसमा प्रदान गर्छ। यसका निम्ति सामानहरूको विवरणअनुसार निश्चित रकम तिर्नुपर्छ।

यी सबै बाकस व्यवस्थापन र आपूर्ति सृष्टि पहाडी र नविना सुवेदीले गर्दै आएका छन्। चार्टर्ड एकाउन्टेन्ट पढिरहेका नविना र सृष्टिले पोहोरदेखि मात्रै यो काम थालेका हुन्।

सृष्टि पहाडी र नविना सुवेदी। तस्बिरः निशा भण्डारी/सेतोपाटी

'महिनावारीको अर्को नाम नै 'द शी थिङ' हो,' नविना भन्छिन्, 'यो प्राकृतिक प्रक्रिया हो तर लाजको रुपमा हेरिन्छ। हाम्रो उद्देश्य यो सोच बदल्नु हो।'

भारतमा चार्टर्ड एकाउन्टेन्ट पढ्दै गरेका सृष्टि र नविनाले कहिल्यै व्यवसायी बन्ने सोचेका थिएनन्। समयले उनीहरूलाई नेपाल आएर व्यवसायीका रूपमा स्थापित गरायो।

'भारतमा पढ्दा तीन वर्ष इन्टर्नसिप गर्नुपर्थ्यो,' सृष्टिले भनिन्, 'त्यसको लागि कर्पोरेट अफिसमा काम थाल्यौं। केही समयपछि, एउटै कुर्सीमा दिनभर बसेर काम गर्न सक्दैनौं भन्ने महशुस भयो।'

आफ्नो रूचि यस्तो अफिसमा नभएको थाहा पाएपछि सृष्टि र नविना दुवै नेपाल फर्किए। तर उनीहरूलाई यहाँ के गर्ने भन्ने निधो थिएन।

त्यसैक्रममा उनीहरूले राजधानी काठमाडौंमै महिनावारीका धेरै समस्या देखे।

प्रकाशित मिति: : 2019-08-02 07:36:36

प्रतिकृया दिनुहोस्