सिंगापुरको यो अस्पतालमा हुँदैछ ओलीको स्वास्थ्य जाँच

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण सिंगापुरकाे नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा हुने भएको छ। तीन दशकअघि स्थापना भएको यो त्यहाँको सरकारी अस्पताल हो।

स्वास्थ्य जाँच र आरामका लागि उनी करिब एक साता त्यहाँ रहनेछन्।

‘सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीज्युको स्वास्थ्य परीक्षण हुने छ। त्यो त्यहाँको सरकारी अस्पताल हो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपालखबरसँग भने।

सिंगापुरमा रहँदा उनले स्वास्थ्य परीक्षणका साथसाथै आराम पनि गर्नेछन्। आधुनिक सिंगापुरका निर्माता लि क्वान यूले सन् १९८५ मा यो अस्पताल स्थापना गरेका हुन्। रेफर अस्पतालको रुपमा रहेको एनयुएचमा साढे १२ सय सैय्या छन्।

आधिकारिक वेबसाइटअनुसार यो बालबालिकाका मृगौला र कलेजो प्रत्यारोपण गर्ने सिंगापुरको एक मात्रै सार्वजनिक अस्पतालमा हो। एनएचयुमा वयस्क मानिसको मृगौला, कलेजो तथा आमशय प्रत्यारोपण समेत हुनेगर्छ।

गत शुक्रबार सैनिक अस्पताल छाउनीमा उनको स्वास्थ्य जाँच गरिएको थियो। त्यसपछि चिकित्सकले उनलाई सिंगापुर लैजान सल्लाह दिएका हुन्।

सैनिक अस्पतालमा उनको युएसजी ग्याइडेड रेनल बयोप्सी समेत गरिएको थियो। पछिल्ला परीक्षणहरुले उनको रगतमा क्रेटिनाइनो मात्रा बढेको देखाएका छन्। पिसावबाट प्रोटिन जाने गरेको प्रारम्भिक अनुमान छ।

शनिबार सिंगापुर जाने भए पनि प्रधानमन्त्रीको टोलीमा को को सहभागी हुने भनेर अहिलेसम्म निश्चित नभएको बालुवाटार स्रोतले जनाएको छ। ‘डा. दिव्या सिंह र प्रधानमन्त्री पत्नी राधिका शाक्य जानु नै हुनेछ। बाँकी अन्य को को रहने भन्ने अहिलेसम्म निश्चित भएको छैन,’ स्रोतले भन्यो। डा.सिंह ओलीका निजी चिकित्सक हुन्।

१२ वर्षअघि दुवै मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको शरीरमा सुगरको मात्रा घटबढ भएपछि स्वास्थ्य परीक्षण र आराम आवश्यक भएको हो। उनले त्यतिबेला नयाँ दिल्ली र बैंकक गएर उपचार गराएका थिए। पछिल्लो समय उनी नियमित रुपमा फलोअपका लागि थाइल्यान्ड जाँदै आएका थिए।

प्रकाशित मिति: : 2019-08-01 22:19:43

प्रतिकृया दिनुहोस्