उपनिर्वाचन मंसिर पहिलो साता, वडा सदस्यदेखि सां‍सदसम्म ८६४ पदका लागि चुनाव हुने

 प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको रिक्त स्थानमा मंसिर पहिलो साता उपनिर्वाचन हुने भएकाे छ। दलहरूले दिएकाे सुझावका आधारमा मंसिर पहिलाे साता उपनिर्वाचनका लागि तयारी गर्ने निर्वाचन आयाेगले जनाएकाे छ।

आज उपनिर्वाचनको प्रक्रिया र मितिका विषयमा छलफल गर्न निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई बोलाएको थियो। त्यसमा नेकपा, कांग्रेस, राजमोलगायत १८ दल सहभागी थिए।

निर्वाचन आयोगको कार्यालयमा भएको छलफलमा दलहरूले उपनिर्वाचनका लागि मंसिर पहिलो साता उपयुक्त भएको बताएका थिए। ‘दलहरूले मंसिर पहिलो साताको समय सुझाएका छन्, हामी त्यही अनुसार तयारी गर्छौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पत्रकारसँग कुराकानी गर्दै भने।

मंसिरभन्दा अघि चाडपर्वको समय भएकाले निर्वाचन गर्न नहुने दलहरूको सुझाव थियो। भदौका लागि आयोगको तयारी पुगेको देखिएको थिएन भने असोज र कात्तिक दशै र तिहारले गर्दा उपनिर्वाचनका लागि उपयुक्त नभएको दलहरूको भनाइ थियो।

निर्वाचन आयोगले आयोजना गरेको छलफलमा नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलगायत नेता सहभागी थिए।

कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन?

निर्वाचन अयोगका अनुसार, स्थानीय तहदेखि प्रतिनिधिसभाका सदस्यका लागि उपनिर्वाचन गर्नुपर्नेछ। जसमा कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्नुपर्नेछ। त्यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-08-01 15:12:24

प्रतिकृया दिनुहोस्