मेयरले आफ्नै फोटो भएको झोला विद्यार्थीलाई बोकाएपछि...

देशमा राजतन्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो।

२०६५, जेठ १५ मा राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति आए।

परिवर्तन यतिमै रोकिएन। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। संघ, प्रदेश तथा स्थानीय गरी देशमा तीन तहका सरकार छन्।

डेढ वर्षअघि भएको निर्वाचनपछि ७ सय ५३ वटा स्थानीय तह (गाउँपालिका/नगरपालिका) मा जनप्रतिनिधि आए। विकास निर्माण मात्र होइन संविधानअनुसार कक्षा १२ सम्मको पठनपाठन हेर्ने अधिकार पनि स्थानीय सरकारलाई छ। शासनसत्ता आफ्नो हातमा भएका बेला पछिल्लो समय ज्ञानेन्द्र शाहका पालामा राजा-रानीको फोटो विद्यालय तहका किताबमा राखिएका थिए। आफ्नो हातमा 'सत्ता' आएपछि स्थानीय सरकारले पनि शिक्षामा राजतन्त्रकै पालाको जस्तो 'मनलाग्दी' गरेका छन्।

 प्रदेश नम्बर २ अन्तर्गत रौतहट समनपुरको गढिमाई नगरपालिकाका मेयरको फोटो विद्यार्थीले बोक्ने झोलामा छापिएका छन्।

'बेटी बचाऊ, बेटी पढाऊ' अभियान चलाउने क्रममा मेयर श्यामप्रसाद यादवको फोटो भएको झोला सरकारी विद्यालयका छात्रालाई वितरण गरिएको छ।

वडा नम्बर ८ को बिलाग्रा माविका छ सय जना विद्यार्थीलाई मेयर यादवको माला लगाएको फोटो भएको झोला वितरण गरिएको हो। विद्यार्थीलाई बाँडेको झोलामा 'शिक्षा नै समृद्धिको विकास हो' लेखिएको छ। झोलामा लोगोसहित सेवा तथा मित्रता केन्द्र नेपालको नाम पनि छ।

नगरपालिकाले असारमा विद्यार्थीलाई झोला बाँडेको थियो। एकदेखि कक्षा आठसम्म पढ्ने बिलाग्रा माविका चार सय ५० जना छात्रा र एक सय ५० छात्र मेयरको फोटो भएको झोला बोकेर विद्यालय जान्छन्।

नगरपालिकाले झोला बाँड्न ९ लाख रूपैयाँ खर्च गरेको छ। यसबारे मेयर यादवसँग कुराकानी गर्दा यसबारे आफूलाई थाहा नभएको बताए।

'एउटा संस्थालाई झोला बनाउन दिएको, मेरो फोटो राखेर प्रिन्ट गरिदिएछन्। फोटो छापिइसकेपछि झोला देखेको हुँ,' मेयर यादवले सेतोपाटीसँग भने, 'त्यसरी मेयरको फोटो राख्न नहुने हो। किन राखिदिए थाहा भएन। दस प्रतिशत रकम त्यो संस्थाले पनि सहयोग गरेको थियो।'

जनप्रतिनिधि चर्चा बटुल्न नभई काम गर्न नगरपालिकामा पुगे बताउँदै उनले आफ्नो वचाउ पनि गरे।

'हामीले त फोटो अरूलाई देखाउने होइन नि! जनताका लागि काम गर्ने हो,' उनले भने।

प्रकाशित मिति: : 2019-08-01 14:54:57

प्रतिकृया दिनुहोस्