समीक्षाले सायदै सोचेकी थिइन् मृत्यु नजिकै छ

समीक्षा सुवेदी र दुर्घटनाग्रस्त कार।

गत आइतबार अष्ट्रेलियामा उज्यालो हुनै बाँकी थियो। स्थानीय समयअनुसार बिहानको ३ बजेको थियो। पाँच जना नेपाली युवा विद्यार्थी अस्ट्रेलियाकै अग्ला पहाड रहेको स्नोवी माउन्टेनतर्फ कारमा हुइँकिए।

गाडीमा यात्रा गरिरहँदा समीक्षा सुवेदीले स्मार्टफोन निकालिन्। फेसबुक एप खोलिन् र भिडियो लाइभ सुरु गरिन्। २२ वर्षे उनी सिड्नीस्थित क्विन्सफोर्ड कलेजमा अध्ययरत नेपाली विद्यार्थी हुन्।

‘हामी क्यानबेरा जाँदैछौँ, यहाँ अन्ताक्षरी चलिरहेको छ’, उनले कारभित्रबाट रमाइलो क्षण सेयर गर्दै एक जना साथीलाई भनेकी छिन्, ‘यो मेरो चंखे बाँदर!’

भिडियो लाइभ गर्दै उनले एउटा गीत समेत गाइन्। ‘मुटु माग्यौं तिमीले मैले बाँच्नुपर्छ, मै मरे तिमीलाई कसले माया गर्छ’, उनले फेसबुक दर्शकलाई दीपक लिम्बूको गीत सुनाइन्।

फेसबुकको भिडियो क्लिप हेर्दा लाग्छ केही मिनेटभित्रै हुने दुर्घटनाबारे उनले कल्पनै गरेकी थिइनन्।

कारभित्र समीक्षासहित गोपाल भण्डारी, सागर भट्टराई, संगीता देवकोटा र अश्विन कँडेलसहित थिए। समीक्षा भिडियो लाइभमा रमाइरहँदा नेपाली विद्यार्थीको यो समूह दक्षिणी क्यानबेराको मोनारो हाइवे पुग्दै थियो। लाइभ सकिएको केही बेरमै माज्डा–६ सेडान कार व्यस्त हाइवे छोडेर रुखमा गएर बज्रियो।

यो भयानक दुर्घटनामा स्याङ्जा पुख्र्यौली घर भएकी तिनै रमाइली समीक्षाले ज्यान गुमाइन्। चितवनका गोपाल भण्डारीको निधन भयो। बाँकी ३ जना घाइते भए।

 

प्रकाशित मिति: : 2019-07-31 18:56:28

प्रतिकृया दिनुहोस्