युएस–बंगला दुर्घटनाका मृतक परिवारद्वारा मुद्दा दायर, दुई अर्ब १० करोड क्षतिपूर्ति दाबी

सन् २०१८ मार्च १२ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा मृत्यु भएका ७ जना एमबीबीएस विद्यार्थीका हकवाला तथा तिनका बाबुआमाले वायुयान धनी सञ्चालक कम्पनीविरुद्ध २ अर्ब १० करोड रुपैयाँ (१९ मिलियन ९० हजार डलर)भन्दा बढी क्षतिपूर्ति रकम दाबी गरी बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । 

दुर्घटना भएको १६ महिना भइसक्दा पनि कम्पनीको तर्फबाट अन्तरराष्ट्रिय कानुनअनुसार मागदावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरुले न्यायालयमा मुद्दा दायर गरेको सो मुद्दा हेरिरहेका अधिवक्ता अमृत खरेलले बाह्रखरीलाई बताए । उक्त दुर्घटनामा मृत्यु भएका एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबाबुले मुद्दा दायर गरेका हुन् । 

सो सम्बन्धी जाँचबुझको लागि नेपाल सरकारले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा आयोग गठन गरेको थियो । मन्ट्रियल महासन्धीको धारा १७ को व्यवस्था र वार्सा महासन्धीको धारा २५को व्यवस्था अनुसार हेलचेक्रेयाइँबाट भएको दुर्घटनामा वायुयान सञ्चालकले असीमित दायित्व वहन गर्नुपर्ने व्यवस्था रहेको छ । 

बुधबार युएस–बंगला विमान दुर्घटना पीडित मध्येका सात जना यात्रुहरुको परिवारका तर्फबाट विदुरमान श्रेष्ठले रिट दायर गरेको वक्तव्यमा जनाइएको छ । खरेलले अदालतले आदेश दिएको अवस्थामा नेपाल सरकारले नै क्षतिपूर्तिको लागि आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रकाशित मिति: : 2019-07-31 18:16:04

प्रतिकृया दिनुहोस्