निर्मला हत्याकाण्डको पाठः ‘भोलि’ पर्खिंदा चुक्यो प्रहरी

तस्बिरः बाह्रखरी

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष नाघिसकेको छ । यो प्रकरण वर्षैभरी चर्चामा रह्यो । कारण– एक वर्षसम्म बलात्कारी–हत्यारा पत्ता लाग्न सकेन । यो प्रकरणलाई लिएर सदनदेखि सडक तात्यो । आन्दोलन भए, सडक बन्द भयो, टायर बालिए, कैयौंपटक प्ला कार्ड देखाइए, मैनबत्ती बालिए । राजनीतिक दलदेखि नागरिक समाज, अधिकारकर्मीदेखि एनजीओ–आईएनजीओसम्मलाई ‘इस्यु’ बन्यो निर्मला हत्या प्रकरण । सञ्चारमाध्यमका लागि समाचार बनिरहिन् निर्मला पन्त । 

प्रहरीलाई सधैं सोधिने एउटै प्रश्न– अनुसन्धान कहाँ पुग्यो ? प्रहरीको एउटै जवाफ– अनुसन्धान जारी छ । एक वर्षदेखि मिडिया र प्रहरी यही प्रश्नोत्तरमा अल्झिएका छन् । पीडित परिवार कहिले पत्रकार सम्मेलन गरेर हारगुहार गर्छन् त कहिले सडकमा आउँछन् । कहिले अनसन बस्छन् त कहिले मन्त्री, प्रधानमन्त्रीलाई भेटेर हारगुहार गर्छन् ।   

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु निर्मला प्रकरण झन् जेलिँदै गएको बताउँछन् अनौपचारिक कुराकानीका क्रममा । एक वर्षसम्म सुराक पनि नभेटिनुले पनि यो प्रकरण यत्तिकै सेलाएर जाने हो कि भन्ने आशंका धेरैको मनमा छ ।  

के भएको थियो साउन १० गते ?

०७५ साउन १० गते निर्मला पन्त साथी रोशनी शमको घरमा गइन् । रोशनीको भनाइलाई आधार मान्ने हो भने निर्मला दिउँसो दुई बजेको आसपासमा घर जान्छु भनेर रोशनीको घरबाट निस्किएकी थिइन्, तर साँझसम्म पनि घर पुगिनन् । 

निर्मला घर नआएपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन् । निर्मला खोइ भन्दा रोशनी र उनकी दिदी बबिताले दिउँसै हिँडेको बताए । निर्मलाकी आमा दुर्गादेवीले ‘छोरीलाई केही भयो भने तिमीहरुलाई छाड्दिन’ भनेपछि बम दिदीबहिनीले ‘तिम्री छोरी पोइल गएकी होली हाम्लाई के मतलब’ भने । बाह्रखरीसँगको भेटमा बम दिदीबहिनीले भनेका थिए, ‘‘त्यस्तो होला भन्ने जानेको भए हामी भन्दैनथ्यौं । आवेगमा भनियो, त्यसको ठूलो पश्चाताप छ ।’’

अँध्यारो भएपछि पनि छोरी नआइपुगेपछि निर्मलाकी आमा भीमदत्तनगर–१८ मा रहेको अस्थायी प्रहरी चौकी सालघारीमा पुगिन् । रातिको ९ बजिसकेको थियो र पानी परिरहेको थियो । 

निर्मलाकी आमाले बम दिदीबहिनीको घरमा गएर छोरी खोजिदिन आग्रह गर्दा प्रहरीले सक्रियता देखाएन । त्यहीबीचमा निर्मलाका आफन्तले वडा प्रहरी कार्यालय कञ्चनपुरमा खबर गरे । वडा प्रहरीले पनि ‘आज ढिलो भइसक्यो भोलि खोजौंला’ भन्दै टार्यो ।

भोलिपल्ट साउन ११ गते निर्मलाका गाउँले बम दिदीबहिनीको घर पुगे । भीड बढ्दै जान थाल्यो । निर्मला १० गतेबाट घर नआएको खबर एकाएक गाउँभरी फैलियो । त्यहीबेला निर्मलाको साइकल खोलाको किनारमा देखिएको कसैले बतायो । सबै गाउँलेहरु खोलाकिनार पुगे । खोलापारी उखुबारी थियो । साइकल भेटिएपछि सबै जम्मा भएर उखुबारीमा पसे । उखुबारीमा केही पर शव फेला पर्यो निर्मलाको ।

शव भेटिएपछि घटनास्थलमा भीमदत्त नगरपालिकाका मेयर किन नआएको भन्दै विरोध सुरु भयो । शव उठाएर महाकाली अञ्चल अस्पताल पुर्याइयो । त्यतिबेला निर्मलाका बुबा यज्ञराज र कान्छी श्रीमती भारतको धार्मिक भ्रमणमा थिए । 

प्रकाशित मिति: : 2019-07-29 12:43:04

प्रतिकृया दिनुहोस्