एक वर्षमा ८ सय नेपाली काठको बाकसमा फर्किए

तस्बिरः अनलाइनखबर

गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ ।

कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए 

झापा सुरुंगाका झलक श्रेष्ठले दशैंमा घर आउँछु भनेका थिए बाबु जीतबहादुरलाई । नभन्दै उनी दशैंमा नै फर्किए, तर काठको बाकसमा ।

एकातिर सरकारले विभिन्न देशमा लाखौं रोजगारी सिर्जना गर्ने बताइरहेको छ, अर्कोतिर रोजगारीकै लागि विदेशिएका युवाहरु यसरी मृत्युवरण गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा दैनिक ३ नेपालीहरु बन्द बाकसमा आउँछन् भन्ने तथ्यांक पनि पुरानो भइसक्यो ।

विदेशमा मृत्युवरण गर्नेका परिवारलाई केही रकम क्षतिपूर्ति दिएर सरकारले आफ्नो ‘कर्तव्य’ पूरा गरेको ठानिरहेको छ । तर, क्षतिपूर्तिको सानो रकमले त्यो परिवारमाथि लागेको घाउमा के मल्हमपट्टि लगाउन सक्थ्यो ?

गत एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली काठको बाकसमा फर्किए । वैदेशिक रोजगारीमा जानेको मृत्यु हुँदा क्षतिपूर्ति दिलाउने वैदेशिक रोजगार बोर्डको सचिवालयले मात्रै एक वर्षका बीचमा ७५३ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिलाएको छ । अवैधानिक रुपमा गएर मृत्यु हुने कामदारको संख्या यसमा जोडिएको छैन ।

बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ७३० जना पुरुष र २३ जना महिला कामदारले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाए । यो संख्या आर्थिक वर्ष २०७४/७५ को भन्दा अलिकति थोरै हो । सो वर्ष ८२१ जनाको मृत्यु भएकोमा ८ सय पुरुष र २१ जना महिला थिए । गत वर्ष विदेशमा मृत्यु हुने पुरुष कामदारको संख्या घटे पनि महिला कामदारको संख्या थोरै बढेको देखिन्छ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष कामदारको धेरै मृत्यु हुने देशमा मलेसिया अगाडि देखियो । गत वर्ष मलेसियामा २२९ जना नेपाली कामदारले ज्यान गुमाएका थिए, त्सभन्दा अघिल्लो वर्ष यो संख्या २८९ थियो । मृतक कामदारको संख्या घटे पनि मलेसिया अझै नेपाली कामदारको लागि असुरक्षित गन्तब्यको सूचीमा पहिलो नम्बरमा नै छ ।

यो वर्ष मलेसिया जाने कामदारको संख्या निकै न्युन भएकाले संख्या घटेको हो । यसै पनि यो वर्ष वैदेशिक रोजगारीमा जाने कुल नेपालीको संख्याममा ३३ प्रतिशतले गिरावट आएको छ ।
साउदी अरेबियाबाट एक वर्षका बीचमा १९४ नेपाली कामदारको शब भित्रियो । अघिल्लो वर्ष यो संख्या २०३ थियो ।

प्रकाशित मिति: : 2019-07-29 12:24:00

प्रतिकृया दिनुहोस्