बिरामीको बहाना पार्दै विवाद पन्छाउँदै छन् प्रधानमन्त्री ओली

तस्बिरः देश सञ्चार

स्कुल विभागको नेतृत्वको जिम्मेवारी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई दिने भन्नेमा अनिर्णित बनेको सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले एकपछि अर्को बहाना बनाउँदै सचिवालय बैठक धकल्दै गएको छ।

खासगरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेल र श्रेष्ठमध्ये कसलाई स्कुल विभागको प्रमुख बनाउने भन्नेमा निर्णय लिन डराएपछि विभिन्न बहानामा पूर्वनिर्धारित सचिवालय बैठकहरु अन्तिम समयमा आएर स्थगित गर्न थालेका छन्।

चार दिन अघि असार ९ गते निर्धारित बैठक आफ्नो व्यस्तताको कारण देखाउँदै बैठक स्थगितको सूचना जारी गरेका ओलीले आइतबार बिरामी भएको जानकारी गराउँदै बैठक स्थगित गरेको जानकारी गराएपछि सचिवालय सदस्यहरु रुष्ट भएका छन्।

त्रिवी शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ठाउँ खाली नभएको भन्दै शनिबार छाउनस्थित बीरेन्द्र सैनिक अस्पताल पुगेर ओलीले नियमित स्वास्थ्य जाँच गरेको चिकित्सकले दाबी गरेपनि आफु अस्वस्थ भएकाले बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनु बहाना मात्रै भएको र उनले विवाद टार्न खोजेको भन्दै सचिवालय सदस्यहरु सशंकित भएका हुन्।

सचिवालयका एक सदस्यले देशसञ्चारसँग भने,‘ अध्यक्षज्यूले स्कुल विभाग कसलाई दिने भन्नेमा निर्णय नै लिन सक्नु भएको छैन। त्यसलाई पर धकल्न अनेक बहाना बनाउँदै हुनुहुन्छ। यस्तो तरिकाले कसरी उहाँहरुले भने जस्तो साउनमा एकताको बाँकी काम सकिन्छ ?’

ती सदस्यका अनुसार बिरामी भएको बहानामा बैठक स्थगित गरेको भएपनि अध्यक्ष ओली आइतबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहालसँग एक चरण छलफल गरी एक कार्यक्रमको उद्घाटनका लागि सोल्टी होटल पुगेका छन् ।

प्रकाशित मिति: : 2019-07-28 14:19:28

प्रतिकृया दिनुहोस्