भन्सारका कर्मचारीलाई ‘घुस’ दिनै अप्ठयारो !

 सरकारले एक हजार रुपैयाँमाथिको कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि भन्सारमा बस्ने सरकारी कर्मचारीलाई घुस दिन व्यवसायीलाई अप्ठयारो परेको छ । 


यसअघिसम्म पारीपट्टि रहेको एउटा ट्रक नेपाल छिराएबापत व्यवसायीबाट भन्सारका कर्मचारी र प्रहरीले एक हजार ५ सय देखि २ हजार रुपैयाँसम्म लिने गरेका थिए । तर, सरकारले एक हजार रुपैयाँभन्दा माथिको कारोबारमा अनिवार्य प्यान लागू गर्दिएपछि उनीहरु अप्ठयारोमा परेको स्रोतको दाबी छ । 


यसअघिसम्म एक हजार माथिको कारोबारमा प्यान अनिवार्य थिएन । भन्सारका अघिकारीले लिएको घुसलाई कसै न कसै गरेर मिलाउँदै आएका थिए । तर, अहिले सरकारले अनिवार्य प्यान नम्बरको व्यवस्था गरेपछि भन्सारमा बस्ने कर्मचारी, ट्राफिक तथा प्रहरीलाई घुस लिन र व्यवसायीलाई दिन कठिन भएको स्रोतले बताएको छ । 


तर, उनीहरुले कुनै तरिकाबाट बिल उपलब्ध गराउथे’ एक उद्योगीले भने, ‘अहिले न घुस लिन मान्छन्, न ट्रक छाड्छन्, हामी पो अप्ठयारोमा पर्यौ ।’


स्रोतका अनुसार विभिन्न नाकाबाट दैनिक ३ हजार मालवाहक ट्रक नेपाल आउने गरेका छन् । ‘एउटा ट्रकबाट न्यूनतम एक हजार ५ सय रुपैयाँ घुस दिर्नै पर्ने अवस्था थियो । व्यवसायीका अनुसार एक ट्रकबाट एक हजार ५ सय रुपैयाँ मात्रै लिए पनि दैनिक ४५ लाख रुपैयाँ घुसबापत भन्सारका कर्मचारी र प्रहरीले बुझ्थे । 


यसअघिसम्म भन्सारमा बसेका अधिकारीले ट्रक चेकजाँच गर्दा पनि केही भेटिएन भने न्यूनतम एक हजार रुपैयाँ अनिवार्य दिनुपर्थ्यो । एक हजार रुपैयाँ दिए पछि मात्रै भन्सारबाट नेपालतिर ट्रक छिर्ने गरेको थियो । 


व्यवसायीका अनुसार प्यान अनिवार्य गरेपछि एक हजार ५ सयबाट अहिले ५ सय रुपैयाँ मात्रै घुस बापत दिनुपर्छ । एक हजार रुपैयाँ भन्दा कमको कारोबार गर्दा प्यान अनिवार्य छैन । खासगरी, वीरगन्ज, भैरहवा, विराटनगर, धनगढीलगायतका नेपालका सबै नाकाबाट नेपालतिर ट्रक प्रवेश गर्दा एक हजार ५ सय देखि २ हजार रुपैयाँसम्म दिनुपर्ने बाध्यता थियो । 


न घुस लिन्छन्, न ट्रक छाड्छन
 

सरकारले अनिवार्य प्यान लागू गरेपछि व्यवसायीलाई ट्रक छुटाउन झन समस्या परेको छ । ‘असारसम्म हजार पन्ध्र सय रुपैयाँ दिए पछि सहजै ट्रक नेपाल ल्याउन पाइन्थ्यो, आज त्यो अवस्था छैन्, भएभरका ट्रक भन्सार पारी नै रोकिएर बसेका छन्,’ वीरगन्जका एक व्यापारीले भने, ‘घुस बापतको पैसा लेउ भन्दा पनि लिँदैनन्, ट्रक छाड भन्दा पनि छाड्दैनन्, बडो अप्ठयारोमा परियो ।’ 

 

प्रकाशित मिति: : 2019-07-26 09:53:56

प्रतिकृया दिनुहोस्