हङकङमा भइरहेको विरोध प्रदर्शनको आर्थिक कारण

तस्बिरः एजेन्सी

हङकङमा न्यूयोर्क, लन्डन वा सान फ्रान्सिस्कोभन्दा साना अपार्टमेन्ट पाइन्छन्। तर भाडा भने धेरै छ। पाँचमध्ये एक जना गरिब छन्। प्रतिघण्टा ज्याला दर पाँच अमेरिकी डलरभन्दा कम छ।

करिब ७४ लाख जनसंख्या भएको अर्धस्वायत्त चिनियाँ शहर हङकङले हाल ठूलो जनविरोध झेलिरहेको छ। सायद यो नै विश्वको सबैभन्दा धेरै असमानता भएको शहर हो। दैनिक जीवनमा मूलभूमि चीनको बढ्दो शक्ति र प्रभावलाई लिएर हङकङवासी आक्रोशित छन्। उनीहरू आफ्नो नेता आफैं रोज्न चाहन्छन्। तर यो राजनीतिक आक्रोशभित्र गहिरो आर्थिक कारण लुकेको छ। अवस्था अझ जटिल र गम्भीर हुने उनीहरूको डर छ।

“राम्रो शिक्षा पाए आम्दानी पनि राम्रो हुन्छ भन्ने हामीले सोंचेका थियौं,” ५५ वर्षीय केन्नेथ ल्योङले भने। उनले कलेज तहको शिक्षा हासिल गरेका छन्। “तर दुई दशकयता, हङकङेलीले कलेजको शिक्षा पूरा गरे पनि पैसा कमाउन सकेनन्।” अपराधका संदिग्धलाई मूलभूमि चीन सुपुर्दगी गर्ने सरकारको योजना विरूद्ध भइरहेको प्रदर्शनमा ल्योङ पनि सहभागी भए। चीनको अदालत कम्युनिष्ट पार्टीको नियन्त्रणमा छ। त्यहाँ बलजफ्ती बयान लिनु सामान्य हो।

उनी आफ्नै परिस्थितीसँग पनि रूष्ट छन्। उनी सेक्युरिटी गार्ड हुन्। सातामा ६ दिन दैनिक १२ घण्टा काम गर्छन्। तर कमाइ भने घण्टाको ६ अमेरिकी डलरभन्दा कम छ।

हङकङमा दुई लाख १० हजार मानिस गैरकानूनी रूपमा बनाइएका “सबडिभाइडेड अपार्टमेन्ट”मा बस्छन्। तीमध्ये उनी पनि एक हुन्। कति अपार्टमेन्ट त यति साना छन् कि स्थानीय त्यसलाई पिँजडा र कफन भन्छन्। तुलनै गर्दा उनको कोठा अलि फराकिलो छ। सय वर्ग फिटको एउटा कोठा छ। उनी त्यही सुत्छन्, खाना पकाउँछन् र बाँच्छन्। खाना र अन्य खर्च कटाएर महिनाको पाँच सय १२ अमेरिकी डलर भाडा जम्मा गर्न उनलाई हम्मे पर्छ।

तथ्याङ्क उदेकलाग्दो छ। आधा शताब्दीयता हङकङमा धनी र गरिबको खाडल अहिलेसम्मकै ठूलो र विश्वकै उच्चछ। विश्वमै सबैभन्दा लामो काम गर्ने समय र सबैभन्दा महँगो भाडा छ। भाडाको अनुपातमा ज्याला एकदमै कम छ जुन सोही अवधिको तुलनामा झण्डै एक चौथाइ बढेको छ। बितेको दशकमा घरको मुल्य तेब्बर बढेको छ। घरधुरीको वार्षिक मध्यिका आम्दानीभन्दाएउटा घरको मध्यिका मुल्य २० गुणा बढी छ।

पाँच वर्षअघि अक्युपाइ सेन्ट्रल वा अम्ब्रेला आन्दोलनताका पनि यी मुद्दाहरू सबैभन्दा अग्रपङ्कतिमा थिए। आन्दोलनले केही सातासम्म शहर आंशिक बन्द भयो। फ्रान्समा भएको येल्लो भेस्टजस्ता जनप्रदर्शनले विश्वको फस्टाउँदो अर्थतन्त्रले धेरैलाई पछि पारेको चिन्ता बढाएको छ।

प्रकाशित मिति: : 2019-07-26 08:17:59

प्रतिकृया दिनुहोस्