दुर्गादेवीको बिलौना – मलाई पुरानो घाउको पीडा नसम्झाउनुस्, यो देशमा न्याय रहेनछ

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ। यो अवधिमा राज्यका अनेकौं सूत्र प्रयोग भए पनि अहिलेसम्म हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवीका आँशु रोकिएका छैनन् ।

न्याय पाउने आशामा पटक–पटक प्रहरी प्रशासनको ढोका ढक्ढकाएकी दुर्गादेवी अहिले भने निरास छिन्। अब उनलाई न त न्याय पाईन्छ भन्ने विश्वास छ, न बितेका कुरालाई पटक–पटक सुन्ने सामथ्र्य नै। यस्तो लाग्छ दुर्गादेवीले निर्मलालाई बिर्सिसकिन्। तर यथार्थ भने फरक छ। न्यायका लागि दुर्गादेवी रातदिन, भोक–प्यास नभनी कहिले काठमाडौं त, कहिले धनगढी, कहिले मानवअधिकार आयोग त कहिले प्रहरी प्रशासनको ढोका ढक्ढकाइन्। उनले जति नै ढोका ढक्ढकाए पनि न्याय भने पाउन सकिनन्। हाल कञ्चनपुरमै रहेकी दुर्गादेवीले नेपालन्युजसँग भनिन् ‘अब मलाई पुरानो घाउको पीडा नसम्झाए हुन्छ, यो देशमा न्याय रहेनछ ।’ निर्मलाको नाम सुन्ने बित्तिकै भक्कानिने दुर्गादेवीले आफू रुँदारुँदै निक्कै कमजोर भैसकेको बताईन्।

उनले भनिन्–‘एक बर्षसम्म छोरीलाई न्याय मिल्ने आशामा मैले मानवअधिकारकर्मी, पत्रकार र नागरिक समाजलाई जति भन्नु भनिसकें, अब न्याय दिने ग्यारेन्टी गरेमात्रै म बोल्न सक्छु।’ आफ्नो स्वार्थका लागि मात्रै घरी–घरी छोरीको याद दिलाएर आफूलाई थप कमजोर नपार्न निर्मलाकी आमा आग्रह गर्छिन्। उनले थपिन्–‘मैले बुझिसकें मलाई न्याय दिने कोही छैन, अब बचेकी दुई छोरी पाल्नलाई पनि काम गरिखान दिनुहोस्।’ जब निर्मलाको नाम दुर्गादेवीको कानमा ठोकिन्छ, उनका आँखा रसाउने गर्छन्।

‘श्रीमानबाट अलग्गिएको १२ बर्ष बितिसकेको छ’, दुर्गादेवीले भनिन्, ‘तर त्यो अवधिमा यति कमजोर भएकी थिइन, जति यो एक वर्षको अवधिमा भएँ।’

छोरीको हत्यापछि एक बर्ष बितेको पत्तै नपाएकी दुर्गादेवीले त्यही बहानामा दैनिक घरसम्म पुग्ने मानिसका कारण यादहरू झनै बढ्ने गरेको सुनाईन्।

एक महिनाअघि भीमदत्त नगरपालिकाले उनलाई काजमा जागिर दिएको छ। अहिले उनी त्यही काम गरेर दुई छोरीहरूको भविष्य उज्वल पार्ने सपना देखिरहेकी छन्।

निर्मलाकी कान्छी बहिनी सरस्वती पन्त आमाको पीडा सहन नसक्नुको भएको बताउँछिन् । ‘रातदिन आमाको आँखामा आँशुको धारा हुन्छ’ निर्मलाकी बहिनी सरस्वती भन्छिन्–आमाको त्यो पीडाले हामीलाई पनि रुवाउँछ ।’ गाउँघरमा अरु घटना हुँदा न्याय पाइन्छ’ उनले भनिन्, ‘तर हाम्री दिदीले के बिगार गरेकी थिइन् र यो सरकारले न्याए दिएन ?’

अनुसन्धान मात्रै, उपलब्धी शुन्य

निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानका लागि थुप्रै समिति बने पनि ठोस निष्कर्ष कतैबाट आएन । यो अवधिमा शंकास्पद भनिएका ५ सय २९ जनासँग बयान लिइएको छ। त्यस्तै ७३ जनाको डीएनए परीक्षण गरिएको छ। अभियुक्त भने समातिएनन्।

२०७५ साउन १० गते उल्टाखामस्थित आफ्नै घरबाट साथीको घर जान भनी निस्किएकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यो अवधिमा अनुसन्धानमा लापर्वाही भएको भन्दै प्रहरीले नै आफ्नो कमजोरी स्वीकार्‍यो। तत्कालीन एसपी डिल्लीराज विष्टसहित प्रहरी अधिकारीलाई कारवाहीसमेत भयो। तर नतिजामा प्रहरी पुग्न सकेन।

प्रकाशित मिति: : 2019-07-26 07:12:49

प्रतिकृया दिनुहोस्