अनामनगरमा कपडा लेनदेन गर्ने बैंक

अनामनगर, हनुमानस्थानबाट सिंहदरबार पूर्वी गेट कटेर अगाडि बढ्दै जाँदा दायाँपट्टि ठूलो बरको रूख आउँछ।

तीन दिनअघिसम्म यहाँ खासै चहलपहल हुन्थेन। तर गत मंगलबारदेखि यहाँ मान्छेको घुइँचो नै लाग्न थालेको छ। एक्कासि यो चहलपहल बढाउने काम 'हन्ड्रेड्स ग्रुप' नामक युवाहरूको समूहले गरेको हो।

उनीहरूले रूखको फेदमुनि सरसफाइ गरे। एउटा ठूलो र्‍याक राखे। र्‍याकमा छानो हाले। यो देख्नेहरूलाई सुरूमा 'यी केटाहरू के गर्दैछन्' भन्ने पनि लाग्यो। जब समूहले आफ्नो काम पूरा गर्यो, देख्नेहरू दंग परे।

समूहले त्यो ठूलो र्‍याकमा लुगाफाटा झुन्ड्यायो। जुत्ताहरू सजायो। गुडियादेखि झोलासम्म राख्यो। पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामानहरू संकलन गरेर उनीहरूले 'कपडा बैंक' सञ्चालनमा ल्याए। यो बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ। 

सडक किनारैमा रहेको यो नौलो अभियानले धेरैलाई आकर्षित गर्यो। सामान दिन चाहनेले सहज ठाउँ देखे, राम्रो काम भन्नेले सरहाना गरे।

सबभन्दा खुसी ती भए जसले यहाँबाट सामान लैजान पाए। आफूलाई आवश्यक परेका तर किन्न नसकेका जुत्ता र लुगा सित्तैमा पाउँदा को खुसी नहोला!

जो कोहीले पनि कपडा-सामान ल्याएर दिनसक्ने भएकाले यो अभियानले सडकमा बस्ने असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्दत गर्ने समूहका सदस्य विमल पन्त बताउँछन्।

प्रकाशित मिति: : 2019-07-25 19:00:24

प्रतिकृया दिनुहोस्