प्राध्यापकको निजी मोह अझै रोकिएन

त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिविमातहतका प्राध्यापकको ‘निजी मोह’ अझै रोकिएको छैन । सरकारी क्याम्पसमा अध्यापनरत केही प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक र शिक्षण सहायकले निजी शिक्षण संस्थामा पढाउनेक्रम अझै नरोकिएको हो ।

प्राध्यापकले निजीमा पढाउने गरेको गुनासो व्यापक आउन थालेपछि त्रिभुवन विश्वविद्यालयले स्विकृत नलिएरै पढाए कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । पूर्णकालीन शिक्षक कर्मचारीले अन्यत्र कुनै पनि निकाय वा संस्थामा आंशिक रूपमा काम गर्न चाहे त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयबाट अनिवार्य स्वीकृति लिनुपर्छ ।

त्रिवि अनुमगन निर्देशनालयले ८ साउनमा सूचना जारी गर्दै विश्वविद्यालयअन्तर्गत अध्ययन संस्थान र संकायका डीन कार्यालय तथा आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, शिक्षण अस्पताल, केन्द्रीय कार्यालयलगायत त्रिविका अन्य निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । केही सरकारी प्राध्यापकले विद्यार्थीलाई समय नै नदिएको गुनासोसमेत आएको छ । त्रिवि केन्द्रीयसहित ६१ आंगिक क्याम्पसमा ३ लाख ९२ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । त्यहा“ १६ हजार ६१ कर्मचारी छन् ।

त्रिवि शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा बिनाजानकारी लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट हटाइने उल्लेख छ । अनुगमन निर्देशनालय विनियम २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिवि कामकारबाहीमा असर नपर्नेगरी स्वीकृत दिन सक्ने उल्लेख छ ।

प्रकाशित मिति: : 2019-07-25 07:54:05

प्रतिकृया दिनुहोस्