प्रदीप गिरीले भने : जनयुद्धले शासकका अनुहार फेर्‍यो, राज्यसंस्था उही छ

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालमा भएको दश वर्षे जयनुद्धले राज्यसंस्था फेर्न नसकेको बताएका छन्।  प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल भाग लिँदै राजनीतिक चिन्तकसमेत रहेका गिरीले १० वर्षे जनयुद्धले शासकका केही अनुहार मात्रै फेरेको बताएका छन्।  उनले नेपालमा जुनकारणले नेपालमा जनयुद्ध भयो, त्यो समस्या जस्ताको तस्तै रहेको उल्लेख गरे। ‘कुन कारणले नेपालमा दीर्घकालीन जनयुद्ध भएको थियो? के त्यो जनयुद्धले नेपालको राज्य संस्थालाई बदलेको छ?’, उनले प्रश्न गरे, ‘राज्य संस्थाको रुपान्तरणको कुरा त छाड्नुस, हस्तान्तरण पनि भएको छैन।’ नेपालमा भएको जनयुद्धले उठाएको राज्य संस्थाको परिर्वतन नहुन्जेल केही हुन नसक्ने उनको भनाइ थियो। ‘जनयुद्धले फेर्न खोजेको त्यो राज्य संस्था परिवर्तन नहुन्जेल केही हुँदैन’, उनले भने, ‘अहिले त शासनका अनुहार मात्रै फेरिएका छन्। अनुहार मात्रै बदलिएका छन्, प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्रीहरुका रुपमा।’ सांसद गिरीले प्रधानमन्त्री र मन्त्रीहरुले संसदलाई छल्न खोज्नु गलत हुने बताए। ‘भारतका प्रथम प्रधानमन्त्री जवहरलाल नेहरुले कहिल्यै संसद छलेनन्, उनले हरेक मुद्दाको संसदमै सामना गरे’, गिरीले भने, ‘अहिले प्रधानमन्त्री र सरकार के संसद फेस गर्न तयार छ? । प्रधानमन्त्रीले आफैँ कतिपपटक छल्न खोजेको होइन र? यसमा सभामुखमाथि प्रमुख जिम्मेवारी हुन्छ।’ 

प्रकाशित मिति: : 2019-07-24 17:02:51

प्रतिकृया दिनुहोस्