‘भारतसँग कुरा गरेर बाढीको स्थायी समाधान खोजौं’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तराई मधेसमा वर्षेनी आउने बाढीको समस्या समाधानका लागि भारतसँग कूटनीतिक तवरमा छलफल गर्नुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा बुधबार पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले भारतसँग कूटनीतिक तवरमा छलफल गरेर बाढीको समस्यालाई सधैंका लागि समाधान गर्नुपर्ने बताएका हुन् । 

“भारतसँग कुरा गर्नुपर्छ । भारतले नेपाललाई दोष दिने, नेपालले भारतलाई दोष दिने काम हुँदै आएको छ । एकले अर्कालाई दोष दिएर कति दिनसम्म पुग्छ ?,” प्रश्न गर्दै उनले भने, “यसमा भारतसँग कूटनीतिक तवरमा कुरा गरेर सधैंका लागि समाधान गर्नुपर्छ । स्थायी समाधान खोज्नुपर्ने समय आइसकेको छ ।”

सभापति देउवाले बाढीपहिरो प्रभावितलाई राहत, उद्धार गर्ने पहिलो दायित्व राज्यको भएको स्मरण गराउँदै तराई–मधेसका बाढीपीडितलाई राज्य पक्षले कुनै पनि सहयोग नगरेको भन्दै आपत्ति जनाए । “घरबारविहिनलाई बास, खाद्यान्न, लत्ताकपडा दिने पहिलो कर्तव्य सरकारको हो । तर, बाढीपीडितले केही पाएका छैनन्,” सभापति देउवाले भने, “रेडक्रस र एनजीओहरुले केही सहयोग गरेका छन् । यो सरकारले केही दिएको छैन ।”

 

प्रकाशित मिति: : 2019-07-24 16:50:01

प्रतिकृया दिनुहोस्