च्याम्पियन प्रेरणा, भन्छिन्– नाम विश्वमा चिनाउन चाहन्छु

टेनिस खेलाडी प्रेरणा कोइराला

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ नेपालमा हुँदैछ । आयोजक नेपाल यो सागलाई यादगार बनाउने योजनामा छ । नेपालले त्यसका लागि विभिन्न खेलाडीहरुलाई राष्ट्रिय स्तरमा तयारी स्वरुप पठाइरहेको छ ।  घरेलु टोलीले कतिपय खेलका लागि नेपालमा नै तयारी गराइरहेको छ । नेपालमा भएको तयारी र नेपाली खेलाडीसँगको प्रतिस्पर्धाले मात्र खेलाडीहरुको खेल स्तरमा सुधार आउँदैन । 

त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै नेपाललाई सागमा गोल्ड मेडल दिलाउने योजनामा छन् टेनिस खेलाडी प्रेरणा कोइराला ।  प्रेरणाले नेपालमा हुने सबै खाले प्रतियोगीतामा सहभागिता जनाउँदै च्याम्पियन पनि भैसकेकी छन् । नेपाली यू–१६ खेलाडीहरुको वरियतामा प्रेरणा पहिलो नम्बरमा छन् । १६ वर्षीया प्रेरणा अहिले सातदोबाटोस्थित टेनिस कोर्टमा सागको तयारी गरिरहेकी छन् । नेपाली कोर्ट र नेपाली खेलाडीहरुसँग मात्र तयारी गरेर नपुग्ने प्रेरणाको बुझाइछ ।  

त्यसैले प्रेरणा हाल अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागिता जनाइरहेकी छन् । चेन्नइ र हैदरावादमा हुने एसएएआरसीको तयारी गरिरहेकी प्रेरणा हाल नेपालमा सहयोगी हातहरुको खोजीमा आएकी हुन् । एसएएआरसीमा सहभागिता जनाउन उनी २७ जुलाईमा पुनः चेन्नई र हैदरावादमा जानेछिन् । हाल मैदानमा तयारी गरिरहेकी प्रेरणालाई राष्ट्रिय खेलकुद परिष्द (राखेप)ले प्रति दिन रु ६ सय भत्तास्वरुप दिन्छ । 

गत चैत र वैशागमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लन टेनिसकी च्याम्पियन प्रेरणा कोइराला हाल आफ्नो पहिलो साग ऐतिहासिक बनाउने लक्ष्यसहित यतिबेला तयारीमा जुटेकी छन् ।  विराटनगरमा जन्मिएकी पे्ररणा हाल विभागीय क्लब एपीएफमा आबद्ध छन् । एपीएफले आफूलाई सहयोग गरे पनि प्रयाप्त नभएको उनी बताउँछिन् ।

“मलै देशको नामलाई उच्च बनाउने सोच राखेर नै अन्तर्राष्ट्रिय स्तरमा खेलिरहेकी छु, हालसम्म धेरै प्रतियोगितामा सहभागिता जनाइसकेँ जसमा नेपालको नामनै चिनाउने प्रयास गरेकी छु । मैले जति सक्दो आफ्नो आर्थिक अवस्थाले हालसम्मको प्रतियोगितामा सहभागिता जनाएँ तर अब जनाउन सक्ने अवस्था छैन । तर पनि कसैले सहयोग गरेमा म देशका लागि खुलेर खेल्नेछु,” प्रेरणाले भनिन् । 

पछिल्लो समय लन टेनिसका सबै प्रतियोगितामा च्याम्पियन प्रेरणाले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । उनको एउटै लक्ष्य डेब्यू साफमा स्वर्ण पदक जित्ने हो । ११ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी प्रेरणाले हाल सम्म धेरै पटक आइटीएफ र डब्लुटिएफमा देशको नामलाई चिनाइ सकेकी छन् । 

“मैले जति पनि प्रतियोगिता खेलेकी छु सबै देशका लागि खेलेकी छु । मेरो नाम अघिनै देशको नाम जोडिएको छ । अव यो नामलाई विश्व सामु चिनाउने मरो प्रयास हुनेछ । हाल म यसैको पहिलो खुड्किलोमा छु,” प्रेरणाले भनिन् । 

सानोमा क्रिकेटको रहर लिएर खेल क्षेत्रमा लागेकी प्रेरणा क्रिकेटमा राम्रो भविष्य नदेखेपछि लन टेनिसमा आकर्षित भएकी हुन् । हाल प्रेरणालाई सहयोग गर्न उनको क्लब एपीएफ पनि सकारात्मक रहेको छ । 

“प्रेरणा एपीएफका लागि होनहार खेलाडी हुन्, त्यसैले एपीएफले उनलाई अनुबन्ध गरेको हो । हामी प्रेरणाले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेको हेर्न सधैँ आतुर हुन्छौँ किनकि उनको नाम सबै नेपालीसँग जोडिएको हुन्छ । त्यसैले उनलाई सहयोग गर्ने कुरामा हामी पनि सकारात्मक छौं,” सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले भने । 

प्रकाशित मिति: : 2019-07-24 08:09:09

प्रतिकृया दिनुहोस्