२६ वर्षमा ४६ लाख नेपाली खाडी र मलेसिया

देशभित्र रोजगार सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीमा जानेको संख्या ४६ लाख पुगेको छ। खाडी मुलुक र मलेसियामा रोजगार खोज्दै पुगेका नेपालीको यो संख्या श्रम स्वीकृति लिएर जाने मात्रको हो। बिनाश्रम स्वीकृति जानेको संख्या यसमा जोडिएको छैन।

वैदेशिक रोजगार विभागका अनुसार बितेका २६ वर्षमा श्रम स्वीकृति लिएर ४५ लाख ९९ हजार ५ सय ६७ नेपाली रोजगार खोज्दै खाडी मुलुक तथा मलेसिया पुगेका छन्। खाडी र मलेसियाबाहेक अन्य राष्ट्रमा श्रम स्वीकृत लिएर काम गर्न जाने नेपालीको संख्या न्यून छ। वैदेशिक रोजगारीमा गएकामध्ये ७ हजार १ सय ६६ जनाको कामकै सिलसिलामा खाडी मुलुक तथा मलेसियामा मृत्यु भएको छ।

आर्थिक वर्ष २०५०/५१ देखि २०७५÷७६ को जेठ मसान्तसम्म ४६ लाख नेपाली रोजगारी खोज्दै विदेशिएका हुन् । रोजगारी खोज्दै विदेशिनेमा महिलाको संख्या २ लाख १८ हजार २ सय ७३ छ भने पुरुष ४३ लााख ८१ हजार २ सय ९४ छ। वैदेशिक रोजगारीमा जानेमा ९५ प्रतिशत पुरुष र ५ प्रतिशत महिला छन्।

विश्व बैंकको अध्ययनअनुसार झन्डै आधा घरधुरीका परिवारका सदस्य या विदेश रहेका वा विदेश गई फर्किएका छन्।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०५०/५१ मा ३ हजार ६ सय ५ जना नेपाली श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गएका थिए । त्यसपछि वैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनी बढ्दै गएको छ । तर, पछिल्ला वर्ष सरकारले ‘निःशुल्क भिसा, निःशुल्क टिकट’ नीति ल्याएपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा केही कमी आएको देखिन्छ।

नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृती लिई र श्रम स्वीकृती नलिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वार्षिक ७ लाख ५० हजारभन्दा बढी हुने गरेको छ। यसलाई राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको ‘आप्रवासी कामदारको अधिकारको अवस्था’ अनुसन्धान प्रतिवेदनमा पनि समेटिएको छ।

‘नेपालका सबैजसो भागबाट वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ। विश्व बैंकको अध्ययनअनुसार झन्डै आधा घरधुरीका परिवारका सदस्य या विदेश रहेका वा विदेश गई फर्किएका छन्। त्यसरी विदेशिएकाहरूमध्ये अधिकांश रोजगारीका लागि गएका थिए,’ आयोगको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

बितेका २६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ९६ प्रतिशत खाडी राष्ट्र र मलेसिया पुगेका छन्।

नेपालले संस्थागत रूपमा श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा जानको लागि विश्वका १ सय ७ राष्ट्र खुला गरिएको छ भने व्यत्तिगत रूपमा जानका लागि १ सय ७२ राष्ट्र। तर, वैदेशिक रोगजारीमा जानेमध्ये ९५.४४ प्रतिशत नेपाली खाडीका ६ राष्ट्र साउदी अरब, कुवेत, कतार, युनाईटेड अरब इमिरेट्स (युएई), ओमान र बहराइन गएका छन्। २६ वर्षमा ४३ लाख ८९ हजार ९ सय ९३ नेपाली खाडीका ६ राष्ट्र पुगेको विभागको तथ्यांकले देखाउँछ।

बितेका २६ वर्षमा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये ९६ प्रतिशत खाडी राष्ट्र र मलेसिया पुगेका छन्। बाँकी ४ प्रतिशत जापान, दक्षिण कोरियालगायत देश गएका देखिन्छन्। वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ७४ प्रतिशत अदक्ष, १२ प्रतिशत अर्धदक्ष, १४ प्रतिशत दक्ष र १ प्रतिशत अतिदक्ष रहने गरेका छन्।

सबैभन्दा बढी मलेसिया 

वैदेशिक रोजगारीको सिलसिलामा पछिल्लो २६ वर्षमा सबैभन्दा बढी नेपाली मलेसिया पुगेको देखिन्छ । विभागको तथ्याङ्कअनुसार यो अवधिमा मलेसियामा १३ लाख २० हजार ९ सय ८९ नेपाली श्रम स्वीकृती लिएर पुगेका छन् । मलेसियापछि रोजगारी खोज्दै धेरै नेपाली जाने राष्ट्र कतार रहेको छ । २६ वर्षमा १२ लाख ६७ हजार ७ सय ४५ नेपाली रोजगारीको लागि कतार पुगेको देखिन्छ ।

विभागकाअनुसार साउदी अरबमा ९ लाख २२ हजार २ सय ५९, युएईमा ६ लाख २८ हजार ९ सय २१, कुवेतमा १ लाख ५६ हजार २ सय ६२, बहराईनमा ५६ हजार १ सय ११, ओमानमा ३७ हजार ७ सय ६, दक्षिण कोरियामा ६२ हजार ३ सय ४, लेबनानमा १२ हजार ७ सय ७३, इजरायलमा ६ हजार ८ सय १५, अफगानिस्तानमा १३ हजार ६ सय ३८, जापानमा १९ हजार २ सय ७८ र अन्य देशमा ९४ हजार ७ सय ६६ नेपाली पुगेका छन्।

आर्थिक वर्ष २०५०÷५१ देखि २०७५÷७६ को जेठ मसान्तसम्म सबैभन्दा बढी महिला युएई गएका छन् । यो अवधिमा युएईमा ५९ हजार १ सय २६, कतारमा १९ हजार २ सय ५४, मलेसियामा ३० हजार ६५, साउदी अरबमा ८ हजार ३ सय २१, कुवेतमा ४२ हजार ६ सय ७७, बहराइनमा ४ हजार ४ सय ४५, ओमानमा ५ हजार ७ सय १७, दक्षिण कोरियामा ३ हजार ७ सय ११, लेबनानमा ११ हजार ५ सय ४२, इजरायलमा ४ हजार ४ सय ९२, अफागनिस्तानमा ५२, जापानमा १ हजार ६ र अन्य राष्ट्रमा २७ हजार ८ सय ६५ जना नेपाली महिला रोजगारीको सिलसिलामा पुगेको देखिन्छ।

प्रकाशित मिति: : 2019-07-22 16:42:31

प्रतिकृया दिनुहोस्