अकुत सम्पत्ति आर्जन गर्ने कर्मचारी बढ्दै, एक वर्षमा १२ कर्मचारीविरुद्ध ४५ करोडको भ्रष्टाचार मुद्दा

तस्बिरः एजेन्सी

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । घुस रकमसहित कर्मचारी पक्राउ परेपछि अनुसन्धानको क्रममा स्र्रोत नखुलेको सम्पत्ति ठहर भएपछि अख्तियारले अकुत सम्पत्तिमा मुद्दा दर्ता गरेको जनाएको छ ।

अख्तियारले हालसम्मको सबैभन्दा बढी नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध २३ पुसमा मुद्दा चलाएको थियो । उनीविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यो नै सबैभन्दा ठूलो बिगो भएको मुद्दा थियो ।

अख्तियारले १८ करोडको माग दाबी गरेर भ्रष्टाचार मुद्दा दर्ता गरे पनि २९ माघ २०७५ मा विशेष अदालतले भने आयल निगमका खड्कासँग २ करोड ५० लाख धरौटी माग्ने आदेश दिएको थियो । अख्तियारले उनलाई काठमाडांै, ललितपुर र भक्तपुरमा जग्गा खरिद गरेको र अकुत सम्पत्ति लुकाएर राखेको अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

अख्तियारकै पूर्वआयुक्त राजनारायण पाठकसँग मिलेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय बर्दिबासमा कार्यरत नासु ललितकुमार झासँग १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँबराबरको अकुत सम्पत्ति भेटिएपछि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ  ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेकै बेला झामाथि अख्तियारले छानबिन थालेको थियो । उनले १७ असार २०४० मा सरकारी जागिर सुरु गरेका थिए । त्यसयता ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ रुपैयाँबराबरको सम्पत्ति जोडेकोमा २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँबराबरको मात्रै वैध रूपमा आर्जन गरेको भेटिएको अख्तियारले जनाएको छ । स्रोत खुल्न नसकेको १ करोड ५६ लाख रुपैयाँ जफतको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सो मुद्दा हाल विचाराधीन छ ।

गत ९ असारमा कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध २ करोड ८ हजार ५ सय ४० रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबीसहित आयोगले मुद्दा दायर गरेको थियो । सरकारी जागिरमा जोडिएपछि उनले १ करोड १४ लाख ९१ हजार १ सय ५१ रुपैयाँ वैध रूपमा आर्जन गरेका थिए । तर, पछिल्लो समय उनीसँग ३ करोड १४ लाख ९९ हजार ६ सय ९१ रुपैयाँ सम्पत्ति भेटिएको थियो । २ करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति: : 2019-07-21 07:27:34

प्रतिकृया दिनुहोस्